बाँके ।
बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–६, कोहलाका ३१ वर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले दिएको जानकारी अनुसार सोही ठाउँका रामचन्द्र धोबीका १२ वर्षीय छोरा राजेश धोबी उक्त नहरमा माछा मार्ने क्रममा डुबेका थिए ।
बालक नहरमा डुबेपछि उनलाई बचाउन नहरमा पसेका बच्छराजको डुबेर मृत्यु भएको उनले बताए । माछा मार्दा नहरमा डुबेका बालक राजेश धोबी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरले जनाएको छ ।
मृतकको शवलाई प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्