12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

जथाभावी फोहोर फाल्नेलाई जरिवाना तिराइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १०, २०८०  

बाँके ।

नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘सचेतना प्रवद्र्धन र जरिवाना अभियान’ सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन प्रभावकारी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले मंसिर २२ गतेसम्म सूचना प्रकाशन-प्रशारण, माइकिङ र पम्प्लेट वितरणमार्फत सचेतना अभियान सञ्चालन गरेको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए ।

तत्पश्चात निरन्तर अनुगमन र निरीक्षण गरिने डिसीको भनाइ छ । अनुगमनका क्रममा गैरजिम्मेवारी देखिए फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना हुनेछ । नगर प्रमुख विष्टले सफा, स्वच्छ र सुन्दर सहर बनाउन नगरवासी सबैले संकल्प गर्नुपर्ने बताउँदै पटक–पटक सम्झाउँदा पनि अटेर गरे अब जरिवाना गरिने चेतावनी दिए ।

‘पहिलो चरणमा स्याम्प्लिङको रूपमा न्युरोड कल्पत्रु होटेलदेखि चारबाहिनी चोकसम्म सघनरूपमा अभियान चलाएर सुरुवात गर्छौं, त्यसपछि यसलाई ब्यापकरूपमा अगाडि बढाउँछौं,’ उनले भने, ‘फोहोरमैला व्यवस्थापन ऐनअनुसार जथाभावी फोहोर फालेमा ५ हजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना हुनेछ ।’

नेपालगन्ज उपमहानगरले दैनिकरूपमा बिहान फोहोर संकलन गरिरहेको छ । आफ्नो फोहोर आफ्नै डस्टबिनमा राखेर फोहोर संकलन गर्ने गाडीमा राख्न प्रोत्साहन गर्न अभियान थालिएको मेयर विष्टको भनाइ छ ।

बैठकमा उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष मो. अय्युब सिद्दिकी, ९ का अध्यक्ष गोविन्द रेग्मी, १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठ, ११ का अध्यक्ष नन्दकिशोर कश्यप, फोहोरमैला व्यवस्थापन अभियन्ता एवम् बाँके होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल गिरी, होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्का, वैश्य समाज, मुस्लिम समाज, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर १०, २०८०     8:24:39 AM  |