बरुणको हत्या आरोपमा थप दुई पक्राउ



बाँके ।

बर्दियाको गुलरिया नगरपालिकाका–५ का २० वर्षीय बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आरोप लागेका उनीहरू घटना भएकै दिनदेखि फरार रहेका थिए । यसअघि जिल्ला प्रहरी कार्यालय बर्दियाले हत्यामा संग्लन रहेको आरोपमा ९ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–५ बंगलामुखीटोलका २० वर्षीय आलोक आश्रित र वडा नम्बर–४ गणेशचोकका १९ वर्षीय सुमन सुनार रहेको बर्दिया प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले बताए ।

गुलरिया नगरपालिका–५ सुलेहवामा तिहारको लक्ष्मीपूजाको दिन राति सुलभ थापालगायतका व्यक्तिहरूको समूहले विभिन्न हातहतियार प्रयोग गरी बरुणको हत्या गरेको थियो ।

यसअघि नै प्रहरीले हत्या आरोपमा सुरेश भनिने सुयस थापा, शुलभ थापा, धिरज ठाकुर, दिपेश बुढामगर, सन्दिप थारू र दिनानाथ चौधरीलाई पक्राउ गरिसकेको छ ।

हत्यामा सहयोगी भूमिका खेलेको भन्दै रोशन थापा, निश्चल थापा क्षेत्री, तर्क भण्डारीलाई हिरासतमा राखी बर्दिया प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

हत्याका आरोपीहरूबाट प्रहरीले यसअघि नै धारिलो हतियार चक्कु, चिर्पट दाउरा, हेलमेटलगायतका सामग्री बरामद गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार