गणेश रावत । कोहलपुर ।
बैजनाथ गाउँपालिका–८ का ठग्गा थारू मालपोत कार्यालय कोहलपुरमा लौरो समातेर आफ्नो पालो कुरेर बसिरहेका थिए । शरीरिक रूपमा अशक्त थारू छोरा नरेशको साथमा लौरो टेक्दै मालपोत कार्यालय पुगे । हामी बिहीबार दिउँसो मालपोत कार्यालय पुग्दा थारू छेउमा लौरो राखी सोफामा आफ्नो पालो कुरिरहेका थिए ।
उनको साथमा अन्य महिला पनि आफ्नो पालो कुरेर बसिरहेकी थिइन् । शारीरिक रूपमा अशक्त उनी कोहलपुरमा स्थापना भएपछि आफूजस्तै अशक्त र कोहलपुरका स्थानीयलाई सेवा लिन सहज भएको बताए । उनले भने, ‘मेरो घर टाढा छ । उमेरले पनि ६३ वर्षको भएँ ।’ त्यसैमा अशक्त र माथि बुढेसकाल लागेकाले हिँड्डुल गर्न नसक्ने उनले बताए ।
उनी मालपोतमा जग्गा छोराको नाममा नामसरी गराउन आएका थिए । त्यसैले छोरासँगै मालपोत कार्यालय आएको उनले बताए । ‘कोहलपुरमा नापी तथा मालपोत कार्यालय नहुँदा नेपालगन्ज जानुपथ्र्यो,’ उनले पराना दिन सम्झिँदै भने, ‘अहिले कोहलपुरमै स्थापना भएपछि आउजाउ गर्न सहज भएको छ ।’ खर्च पनि कम हुने गरेको उनले बताए ।
आफ्नो नाममा जग्गा पास गर्ने धेरै अघिदेखिको सल्लाह भए पनि नेपालगन्ज टाढा भएकाले जाने समय नमिलेको ठग्गाका छोरा नरेशले बताए । ‘मालपोत कार्यालय नेपालगन्ज हुँदा बाबालाई जान असहज भएकाले आजसम्म रोकियो,’ नरेशले भने, ‘बाबा शारीरिक रूपमा अशक्त भएकाले नेपालगन्ज जान सहज थिएन । संयोगवश कोहलपुरमै स्थापना भएपछि नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो, खुसी लागेको छ ।’ नजिक भएकाले गाडी भाडा र खाना खर्च पनि जोगिने थारुले बताए ।
गत कात्तिक १ गतेबाट नापी र मालपोत कार्यालयले कोहलपुरबाट सेवा प्रवाह सुरु गरेका थिए । तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुँदा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको नापी अधिकृत दिनेश कुमार भण्डारीले बताए ।
कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिकका जग्गासम्बन्धी काम कोहललपुरबाटै हुने गरेको भण्डारीले बताए । अहिले कार्यालय स्थापना भएको केही समय मात्र भएकाले र त्यसमाथि जनशक्ति अभावले सेवा प्रवाह भनेजस्तो दिन नसकेको उनको भनाइ छ ।
‘हामीले भाडाको घरबाट सेवा दिरहेका छौँ । ठाउँको अभावले भीडभाड बढी हुने गरेको छ,’ उनले भने, ‘प्राविधिक कर्मचारी र कम्प्युटर अभावले सेवामा थोरै कठिनाइ भइरहेको छ । भएका जनशक्तिबाट जनतालाई गुणस्तरीय सेवा दिने प्रयास भइरहेको छ ।’
कार्यालय सार्दा नेपालगन्जबाट केही डाटा छुटेकाले बेलाबेला समस्या आउने गरेको उनले बताए । कतिपय नागरिकले थाहा नपाएका कारण नेपालगन्जसम्म पुगेर दुःख पाउने गरेको गुनासो आएको उनको भनाइ छ । ‘अब कोहलपुरबाटै सेवा प्रवाह हुने जानकारी दिन चाहन्छु,’ उनले भने, ‘कार्यालय व्यवस्थापनको काम पनि सँगसँगै भइरहेकाले थोरै ढिला हुने भएकाले सेवाग्राहीलाई धैर्य गर्दिनँ पनि आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्