8 September 2024  |   आइतवार, भदौ २३, २०८१

आज हरि बोधिनी एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०८०  

काठमाडौं ।

आज हरिबोधिनी एकादशी मनाइँदैछ। यसलाई ठूलो एकादशी पनि भनिन्छ।

आज तुलसीको विशेष पूजा गरिन्छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइन्छ

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ।

हरिबोधनी एकादशीको अवसरमा पशुपतिमा आज पूजाआजा गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०८०     8:27:26 AM  |