बाँके ।
विश्व मत्स्य दिवसको अवसरमा सोमबार राप्ती नदीमा २० हजार माछाका भुरा छोडिएको छ । दिवसका अवसरमा मत्स्य विकास केन्द्र राप्तीसोनारी–८ ओभरीले एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका–२ स्थित राप्ती नदीमा रहु र नैनी जातका करिब २० हजार माछाका भुरा छोडेको हो ।
राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले करेन्ट र विष प्रयोग गरेर माछा मार्नेको संख्या बढिरहेको हुँदा यस्ता कार्यहरू रोक्नु आवश्यक रहेको बताए । जैविक विविधता संरक्षणमा सबैको चासो र चिन्ता हुनुपर्ने उनको भनाइ छ ।
‘जलीय जैविक विविधता संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौं’ भन्ने मूलनाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै केन्द्रका निमित्त कार्यालय प्रमुख महेन्द्र प्रसाद यादवले माछाका महत्वपूर्ण प्रजातिको क्रमशः वंश नास भइरहेको अवस्थामा जलीय सम्पदाको संरक्षणका लागि माछाका भूरा नदीमा छोडिएको बताए ।
माछा मारेर छाक टर्ने समुदायको रोजगारी सुनिश्चितता नहुँदा प्राकृतिक जलाशयमा भएका माछा सकिँदै जान थालेकाले माछाको संरक्षण गर्नु आवश्यक भएको यादवले बताए । नेपालमा ८ वर्षदेखि मत्स्य दिवस मनाइँदै आएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले जलचरहरूको संरक्षण गर्नुपर्ने बताइन् । उनले नेपाल सरकारले सिफारिस गरेका ८ प्रकारका माछा पालनमा जोड दिनुपर्ने बताइन् ।
२०४६ सालदेखि माछापालन गर्दै आएका बर्दियाका किसान कृपाराम चौधरीले माछा सेवनले स्वास्थ राम्रो हुने हुँदा सबैलाई माछा पालन गर्न सुझाव दिए । उनले किसानहरूलाई माछाका भुरा सहजरूपमा उपलब्ध गराइदिन पनि अनुरोध गरे ।
सो अवसरमा नियिमित रूपमा माछा मार्ने छविलाल घर्ती, रामबहादुर थारूलाई जाल हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्