कोहलपुरका व्यापारीलाई करदाता शिक्षा



गणेश रावत । कोहलपुर ।

१२औँ राष्ट्रिय कर दिवसको अवसर पारेर कोहलपुर उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार संघले एक कार्यक्रमका बीच कोहलपुरका व्यवसायीहरूलाई करदाता शिक्षा प्रदान गरेको हो ।

‘स्वच्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय आर्थिक समृद्धि र सुशासन’भन्ने मूल नाराका साथ १२औँ राष्ट्रिय कर दिवस मनाइएको छ । सो अवसर व्यवसायीलाई करका बारेमा जानकारी दिन करदाता शिक्षा प्रदान गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए ।

उनका अनुसार नगरपालिकाभित्र सञ्चाल भएका सम्पूर्ण व्यापारीलाई कर कसरी तिर्ने, नर्तिदा के हुन्छ र करको दायरा, कर नीति केही फेरबदल भएकाले यसबारे जानकारी दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमले व्यवसायीलाई करका बारे प्रष्ट पारेको उनले बताए ।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज बाँकेका प्रमुख कर अधिकृत सुदेश अर्याले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा जानकारी दिएका थिए । कर नतिरी र दर्ता नगरी व्यापार व्यवसाय सञ्चालन गरे १० हजार रुपैयाँ जरिवाना पर्नेसमेत उनले बताए । त्यसैले समयमै दर्ता र कर तिर्न उनले आग्रह गरे ।

नेपाल सरकारलाई तिर्नुपर्ने कर व्यापारीले मात्र होइन हरक व्यक्तिले तिरिरहेको र तिर्नु सबैको दायित्व रहेको कर अधिकृत यज्ञ ढकाले बताए । ‘दसैँ–तिहारमा बजार अनुगमन गर्दा कतिपय व्यापारीहरूले दर्ता नगरी व्यापार सञ्चालन गरेको पाइएको थियो,’ उनले भने, ‘त्यस्ता व्यापारीलाई हामीले आगामी दिनमा यस्ता कुरामा सजक रहन आग्रहसमेत गरेका थियौँ ।’

कर प्रणालीका बारेमा व्यावहारिक छलफल हुँदा धेरै कुरा सिक्न पाएको र राहत महसुस भएको उपस्थित व्यवसायीहरूले बताएका थिए ।
आगामी दिनमा पनि करलगायतका यस्ता विषयमा कार्यक्रम गर्न उनीहरूले आग्रह गरे ।

कार्यक्रम कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको आयोजनामा र आन्तरिक राजस्व कार्यालय नेपालगन्ज बाँकेको सहकार्यमा भएको
थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ६ गते बुधबार