14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

कर्णाली प्रदेशमा क्युआर कोडमार्फत प्रहरीमा उजुरी दिन सकिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर ६, २०८०  

सुर्खेत ।

कर्णाली प्रदेशका नागरिकले अब क्युआर कोडमार्फत पनि प्रदेश प्रहरी कार्यालय वा मातहतका कार्यालयमा उजुरी दिनसक्ने भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी क्युआर कोड सार्वजनिक गरेको हो ।

प्रदेश प्रहरी प्रमुख एवम् डिआइजी भीमप्रसाद ढकालले प्रहरी कार्यालयले सुरक्षित कर्णाली निर्माण गर्न विभिन्न सातवटा अभियान सञ्चालन गरेको बताउँदै कर्णालीका नागरिकले सुरक्षित र सहजरूपमा सुरक्षा सेवा पाउन क्युआर कोड सार्वजनिक गरिएको जानकारी दिए ।

उनले सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन, नागरिकलाई सहज सेवा प्रदान गर्न र नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस् भनेर सेवा सुचारु गरिएको बताए ।

कर्णालीलाई सुरक्षित बनाउन विभिन्न अभियान सुरु गरिएको बताउँदै कर्णालीका तीन लाख ७१ हजार १ सय २५ घरमा स्टिकर टाँस अभियान सुरु गरिएको डिआइजी ढकालले दाबी गरे । जसअनुसार हालसम्म २ लाख २७ हजार ४ सय २४ घरमा स्टिकर टाँसिएको छ ।

यस्तै, सुरक्षा अभियानअन्तर्गत ७ हजार २ सय ६२ ओटा अन्तरक्रियात्मक गस्ती सम्पन्न गरिएको छ । यात्रुमैत्री अभियानबाट २ लाखभन्दा बढी नागरिकले सेवा लिएको बताउँदै डिआइजी ढकालले कर्णालीमा १५ सय ६५ जना नागरिकलाई निःशुल्क निवेदन लेखन कार्य सम्पन्न भएको जानकारी दिए ।

यस्तै, हरेक कार्यालयमा नागरिक सहजकर्ता परिचालन गरिएको उनको भनाइ थियो । डिआइजी ढकालले क्युआर कोडमार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गीकरण गरिएको बताए ।

जसअनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइने बताए । उनका अनुसार उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।

प्रकाशित मितिः बुधबार, मंसिर ६, २०८०     7:15:34 AM  |