बाँसगढीका व्यापारीलाई करबारे शिक्षा



मधुर पौडेल । बाँसगढी ।

बाँसगढी उद्योग वाणिज्य संघले १२औँ राष्ट्रिय कर दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा संघले व्यापारीहरूलाई करका बारेमा विविध जानकारी प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले कर नै देशको मूल आर्थिक स्रोत भएको बताउँदै यही करबाट देशको विकास हुने भएकाले नगरभित्रका सम्पूर्ण व्यापारीलाई करको दायरामा ल्याई कुनै पनि सेवा–सुविधाबाट वञ्चित नगरिने बताइन् ।

कार्यक्रममा उद्यमी व्यवसायीलाई कर शिक्षा, करको दायरा, कर नीति, कर छुटको व्यवस्था, व्यवसाय करलगायतका विषयमा जानकारी गराइएको थियो । आन्तरिक राजस्व कार्यालय बाँकेका कर अधिकृत यगराज ढकालले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

बाँसगढी नगरपालिकामा रहेका सम्पूर्ण व्यापारीलाई लक्षित गरी करदाता शिक्षा प्रदान गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिए ।

नेपाल सरकारलाई तिर्नुपर्ने कर व्यापारीले मात्र होइन, प्रत्येक कर्मचारी, कृषक तथा जुनसुकै कार्यमा आबद्ध भएका व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तिरिरहेको र तिर्नु सबैको दायित्व रहेको उनले बताए । नगरभित्रका प्रत्येक व्यापारीहरूको हकहितका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बरालले बताए ।

कार्यक्रममा संघले आयोजना गर्न लागेको छैटौँ माघी महोत्सवका सम्बन्धमा पनि छलफल गरिएको थियो । संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको माघ महोत्सव छैटौँ शृङ्खलाका रूपमा यस वर्ष पनि गर्न लागेको हो । पुस अन्तिम सातादेखि सुरु हुने महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारी थालिएको अध्यक्ष बरालले बताए ।

अन्तरक्रिया तथा छलफलमा सहभागीहरूले महोत्सवलाई विवादरहित र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले संघको आयोजनामा हुने महोत्सवलाई यहाँको पहिचान झल्काउनेखालको बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य, राजनीतिक दलका प्रतिनिधि, व्यापारी, वडाध्यक्षहरू तथा समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ५ गते मंगलबार