बाँके ।
कोहलपुरबाट सुर्खेततर्फ गइरहेको जिपमा शनिबार बिहान आगलागी भएको छ । रत्न राजमार्गको बैजनाथ गाउँपालिका–१ देउरालीनजिकै गुडिरहेको भे१च ४४७० नम्बरको जिपमा आगलागी भएको हो ।
जिपमा मालिक लक्ष्मीराज अधिकारीले गुडिरहेको अवस्थामा एक्कासि आगलागी भएको जानकारी दिए । ‘सुर्खेततर्फ जाँदै थियौं, जिपमा एक्कासि धुँवा आयो हेर्दा त दनदनी आगो बल्यो,’ उनले भने, ‘निभाउन प्रयास गरियो जंगलमा न पानी न अन्य सुविधाका कारण निभाउन सकिएन ।’
आगलागीका कारण केही सामानहरू जले पनि सवार मानिसहरूलाई केही नभएको स्थानीय प्रहरीले जनाएको छ ।
उनले तत्कालै चिसापानीमा रहेको नेपाली सेना र नेपाल प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट सोनालिका कम्पनीको राइनो आरएक्स जिप जलेर पूर्ण रूपमा क्षति भएको मालिक अधिकारीले जानकारी दिए ।
आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । प्रहरीले जिपमा किन र कसरी आगलागी भयो भन्नेबारे थप अनुसन्धान अगाडि बढाएको छ ।