14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

नरैनापुरमा मुस्लिम युवाले लगाए भाइटीका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०८०  

बाँके ।

पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेको र सोही बमोजिम मनाउने गरिन्छ । तर फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्वीकार गरी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र भाइचारा सम्बन्ध अझ बलियो भएको पाइन्छ ।

बाँकेको नरैनापुरका मुस्लिम समुदायका केही युवाले हिन्दु समुदायले मनाउने तिहार मनाउँदै आएका छन् । उनीहरुले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसार हिन्दु धर्म मान्ने दिदीको हातबाट भाइटीका लगाएका हुन् ।

नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँका राज खान मुस्लिम समुदायको हुनुहुन्छ उहाँहरुले हिन्दुधर्म मान्ने राप्तीसोनारी ५ कि तारा ओलीसँग भाइटीका लगाएका हुन् ।

हिन्दुहरुको तिहार पर्व दाजुभाई र दिदीबहिनीहरूको आत्मियता जोड्ने पर्व भएको हुनाले विगतका केही वर्षदेखि तारा दिदीसँग तिहारको सप्तरङ्गी टीका लगाउँदै आएको साकिर खानले बताए । उनले आफूलाई तिहार पर्व अति नै मन पर्ने बताए ।

उनले आफूले रक्षा बन्धनमा हिन्दु समुदायका दिदीबहिनीको हातबाट राखी बाँध्ने, दसैंको टीका पनि लगाएर आशीर्वाद थाप्ने र तिहारमा दिदीको हातबाट भाइटीका लगाउँदै आएको बताएका छन् । ‘७ वर्ष पहिला नरैनापुरमा हिन्दु मुस्लिम समुदायबिच द्वन्द्व हुँदा दुई जना मुस्लिम समुदायका व्यक्तिको ज्यान गएको थियो । सामाजिक सदभाव कायम राख्नका लागि हामीहरुले टीका लगाउन सुरु गरेका हौं ।’ सामाजिक अभियन्ता समेत रहेका साकिरले भने ।

‘नरैनापुरमा हिन्दु र मुस्लिम समुदायको मिश्रित बसोबास छ, त्यसैपनि नेपाल बहुजाती, बहुभाषी र बहुधार्मिक र भौगोलिक विविधतामा रहेको मुलुक हो । सामाजिक सद्भाव कायम राख्न एक अर्काका धार्मिक चाडपर्वहरु सबै मिलेर मनाउनुपर्छ ।’ उनले भने ।

दिदी तारा ओलीले आफ्ना दाजुभाइ जस्तै मानेर हरेक वर्ष उनीहरूलाई तिहारको टीका लगाइदिँदै आएको उनले बताए । सम्बन्ध जोड्नलाई कुनै जात तथा धर्मले नरोक्ने भन्दै उनले धर्मभन्दा पहिला मानव भएको बताए । हरेक वर्ष मुस्लिम समुदायका भाईहरूलाई भाइटीका लगाउन पाउँदा आफू अत्यन्तै खुशी भएको ओलीले बताइन् ।

बाँके सामाजिक सद्भाव बोकेको जिल्ला हो । यहाँ विभिन्न धर्म मान्ने समुदायबिच सामाजिक एकता छ । यहाँ हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध तथा शिख धर्म मान्ने समुदायहरु मिलेर बसेका छन् ।

हिन्दुधर्मका समुदायका केही व्यक्तिले मुस्लिम समुदायले मनाउने मोहर्रम पर्व मनाउने गर्दछन् । मोहर्रममा हिन्दु समुदायका केही व्यक्तिले मुस्लिम समुदायले जस्तै घरघरमा ताजिया राख्ने र सेलाउने गर्दछन् ।

त्यसैगरी मुस्लिम समुदायका केही व्यक्तिहरुले पनि हिन्दु समुदायले मनाउने दसैं तिहारलगायतका चाडपर्व मनाउँदै आएका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०८०     5:33:55 PM  |