21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

चर्को आवाज निकाल्दै चलाउने दर्जन बढी मोटरसाइकल कोहलपुर प्रहरीको नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०८०  


बाँके ।

इलाका प्रहरी कार्यालय कोहलपुरले सोमबार राति ट्राफिक नियम उल्लघन गरेर चलाइएका एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लघन गरेर चलाइएका एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

रातको समयमा चर्को आवाज निकाल्ने, हेलमेट नलगाएर चलाउने, मदिरा सेवन गरेर ३ जना बसालेर चलाइएका मोटरसाइकलहरू नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘एक दर्जन बढी ट्राफिक नियम उल्लघन गरेर चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिएका छौं’ उनले मिसन टुडेसँग भने, ‘सबैभन्दा बढी मोडिफाई गरेर चर्को आवाज निकालेर चलाएका मोटरसाइकलहरू छन् ।’

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई इलाका प्रहरी कार्यालय र मातहतका कार्यालयहरूमा राखिएको छ । मोडिफाई गरेको हकमा भने पुरानै स्वरूपमा बनाएर मात्रै कानुन अनुसार कारबाही गरेर छोडिने डिएसपी तिवारीले जानकारी दिए ।

‘नियन्त्रणमा लिइएका मोटरसाइकलको हकमा आवश्यक कारबाही हुन्छ’ उनले भने, ‘आज समेत कोहलपुर प्रहरीले अपरेसन चलाएर थप मोडिफाई गरेर चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिन्छ ।’

नियन्त्रणमा लिइएका अधिकांश मोडिफाई गरिएका मोटरसाइकलमा नेपालगन्ज क्षेत्र तथा चाडपर्व मनाउन कोहलपुर आएका बाहिरी जिल्लाहरूका रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०८०     11:40:45 AM  |