कोहलपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, ट्रक पल्टिँदा दुई घाइते



बाँके ।

नेपालगन्ज–कोहलपुर सडकखण्डको पिपिरीनजिकै ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अरू दुई जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका–१० चटारका ३५ वर्षीय तीर्थराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

ठक्करपछि थारूलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना६ख ८८९८ नम्बरको ट्रकले गएराति साइकलमा सवार थारूलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा ट्रक चालक र सहचालक सामान्य घाइते भएको डिएसपी तिवारीले जानकारी दिए । उनका अनुसार साइकलयात्रीलाई ठक्कर दिएपछि ट्रकसमेत पल्टिएको थियो ।

ट्रक पल्टिँदा चालक र सहचालक घाइते भएका हुन् । ट्रक चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार