बाँके ।
नेपाल युवा परिषद् र होमस्टे महासंघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल युवा परिषद्को तर्फबाट महासचिव रचना खरेल र होमस्टे महासंघ नेपालको तर्फबाट सचिव गंगादेवी हायजुले उक्त सम्झौतापत्र आदनप्रदान गरेका थिए ।
७ बुदाँमा तयार पारेको समझदारीपत्रमा दुवै संस्था ऐक्यबद्ध भई युवाहरूलाई होमस्टे व्यवसायमा कसरी आकर्षित गर्ने, युवाहरू माझ होमस्टेको कसरी प्रचारप्रसार गर्ने, स्थानीय तथा रैथाने खानेकुराहरूको संरक्षण कसरी गर्ने तथा प्रवद्र्धनमा युवाहरूलाई कसरी बढीभन्दा बढी सहभागी गराउने भन्ने जस्ता कुरा समावेश गरिएको जनाइएको छ ।
एकातिर दैनिक हजारौँको संख्यामा युवाहरू नेपालमा अवसर नदेखेर वैदेशिक भूमिमा जानु अर्कातिर नेपालमा प्रचुर सम्भावना बोकेको होमस्टेलाई नेपाली युवाहरूले नदेखिरहेको अवस्थामा नेपाल युवा परिषद् र होमस्टे महासंघ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको महासचिव कृष्ण चौधरीले जानकारी दिए ।
उनका अनुसार ६७ जिल्लामा फैलिएको होमस्टे महासंघ नेपाल र ७७ वटै जिल्लामा फैलिएको नेपाल युवा परिषद्ले पर्यटन, त्यसमाथि पनि आन्तरिक पर्यटनलाई प्रमुख प्राथमिकतामा राखी आगामी दिनमा थप रचनात्मक कार्य गर्ने कुरासमेत उल्लेख गरिएको छ ।
दुवै संस्था मिली विशेषतः परम्परागत ज्ञान र सीपमा आधारित कला संस्कृति तथा प्रविधिहरूको खोज तथा अनुसन्धान गरी अभिलेखीकरण गर्ने उल्लेख गरिएको नेपाल युवा परिषद्का महासचिव रचना खरेलले बताइन् । त्यसैगरी महासचिव खरेलले यसले युवाहरूमा थप नयाँ ज्ञान तथा सीप हस्तान्तरण हुने र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्् ।
महासंघका वरिष्ठ उपाध्यक्ष बाबुराजा महर्जनले यो समझदारीले कुनै एउटा कार्यक्रमका लागि भन्दा पनि ५ वर्षसम्म दिगो रणनीतिका कार्य गर्ने गरी दुवै संस्था साझा मञ्चका रूपमा उभिएको जनाए । उनले आगामी दिनहरूमा अझै राम्रा कार्यक्रम ल्याउनेसमेत बताए ।
महासंघमा सल्लाहाकार एवं रैथाने एग्री प्रडक्ट्सका अध्यक्ष तिलक ढकालले दुवै संस्थाबीच स्थानीयस्तरमा रहेका रैथाने खाना तथा परिकारहरूलाई संरक्षण एवं संवद्र्धन गर्ने गरी समझदारी हुनुले नेपालका रैथाने खाने कुराहरूको संरक्षण तथा प्रवद्र्धनका लागि कोसेढुंगा सावित हुने विचार व्यक्त गरे ।
सम्झौतापत्रमा तीनै तहका सरकारहरूसँग नेपाली युवाहरूको क्षमता तथा दक्षता विकास र उद्यमशीलता विकासका लागि संयुक्त रूपमा पहल गर्ने उल्लेख गरिएको छ ।
असोज २५ देखि २७ सम्म चितवनको माडीमा होमस्टे महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट पारित घोषणापत्रमा समेत होमस्टेमार्फत रैथाने कृषि, कला सीप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्गलगायत सबैलाई संलग्न गराउँदै गाउँगाउँमा रोजगार सिर्जना गर्न पहल गर्नेजस्ता १२ बुदाँ समेटी माडी घोषणापत्र जारी गरिएको थियो ।
महासंघका सल्लाहकार एवं पर्यटन बोर्डका पूर्वसदस्य कृष्णकुमार अर्यालले यो सम्झौताले आगामी दिनमा पर्यटन तथा रैथाने खाना संरक्षणमा निकै ठूलो योगदान पुग्ने बताए । नेपाल युवा परिषद्ले तिहार र छठ पर्वपछि सातवटै प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ । यस सम्मेलनमा होमस्टे महासंघको समेत ऐक्यबद्धता रहेको छ जहाँ हरेक प्रदेशमा २ सय २० जना युवाको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्