कोहलपुर ।
बर्दिया जिल्ला अस्पताल यस वर्ष पनि प्रदेश अस्पतालहरूमा पहिलो भएको छ । लुम्बिनी प्रदेश सरकारको आव २०७९÷८० को प्रदेशस्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया पहिलो भएको हो ।
यस वर्षको प्रदेशस्तरी वार्षिक समीक्षा कार्यक्रममा लुम्बिी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले बर्दिया अस्पतालका प्रमुख डा. सुवास पाण्डेलाई पहिलो भएको प्रमाणपत्र प्रदान गरेका थिए । समीक्षा कार्यक्रम कात्तिक २० देखि २२ गतेसम्म दाङमा भएको थियो ।
डा. पाण्डेले अनेक समस्याका बाबजुद बर्दिया अस्पताल प्रदेशमा पहिलो भएकोमा खुसी व्यक्त गरे । ‘मूल्यांकन सुरु भएको चार वर्षमा तीन वर्ष हामी प्रथम भएका छौँ,’ उनले भने, ‘लगातार पहिलो दुई वर्ष हामी पहिलो भएका थियौँ, पोहोर दोस्रो भयौँ । यसपालि फेरि पहिलो हुन सफल भएका छौँ ।’
उनले पहिलो भएकोमा बर्दिया अस्पतालका सम्पूर्ण सहकर्मी चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई धन्यवाद दिए ।
चार वर्षदेखि प्रदेश सरकारले प्रदेशभरिका अस्पतालहरूको समीक्षा र मूल्यांकन गर्ने गरेको छ । मूल्यांकनको प्रमुख आधार उपचारको पूर्वतयारी (एनएसएस)लाई मान्ने गरिएको छ । त्यसैगरी, सेवाको सन्तुष्टि, समयमै डाटा रिपोर्टिङ, अपरेसनमा भएको वृद्धिलगायतलाई मूल्यांकनको आधार हुने गरेको डा. पाण्डेले बताए ।
प्रदेशका १३ वटा अस्पताललाई उछिन्दै यसपल्ट पनि बर्दिया अस्पताल पहिलो बन्न सफल भएको हो । मूल्यांकनमा बर्दिया अस्पतालले सय अंकमा सबैभन्दा बढी ७४ दशमलव ६१ अंक प्राप्त गर्न सफल भएको छ ।