कोहलपुरका चार मिठाई पसलमा अनुगमन



कोहलपुर ।

चाडपर्वलाई लक्षित गरी पछिल्लो समय कोहलपुर नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ ।

नगरपालिकाको अनुगमन टोलीले सोमबार पनि कोहलपुरमा अनुगमन गरेको छ । सोमबार कोहलपुर नगरपालिकाअन्तर्गतका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको हो ।

टोलीले बजारमा सञ्चालित ४ वटा मिठाई पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलहरूमा थुप्रै कमीकमजोरी भेटिएको खाद्य प्रविधि तथा गुणस्तर कार्यालय नेपालगन्जका अधिकृत एक राज बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा मिति नभएका सामान, सरसफाइमा लापरबाहीजस्ता कमजोरी भेटिएका थिए । अनुगमन टोलीले मिति नभएका र फोहोर खाद्य सामग्री बरामद गरेको थियो । अनुगमनका क्रममा पसलहरूमा व्यवस्थापकीय कमजोरी पाइएको खाद्य प्रविधि तथा गुणस्तर कार्यालय नेपालगन्जका अधिकृत बुढाथोकीले बताए ।

उपभोक्तालाई गुणस्तरीय खाना खुवाउने व्यवसायीको कर्तव्य रहेको जनाउँदै उनले अनुगमनलाई निरन्तरता दिइने बताए । उनले व्यवसायीलाई कमीकमजोरी तत्काल सुधार गर्न निर्देशन पनि दिए ।

मिठाईमा रङको बढी प्रयोग नगर्न र मिठाई पकाउने तेल पटक–पटक प्रयोग नगर्न सुझाव दिइएको बजार अनुगमन समितिले जनाएको छ । यस्तै मिठाई झिंगा नभन्किने धूलो नजाने गरी छोप्न, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेर मात्र बिक्रीवितरण गर्न बजार अनुगमनको टोलीले निर्देशन दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार