बाँके ।
भूकम्प पीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले तत्कालका लागि सोमबार २ लाख ५० हजार बराबरको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको हो ।
विपद् व्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय र सूचना अधिकारी तप्तराज आचार्यले हस्तान्तरण गरेका थिए ।
राहत सामग्री हस्तान्तरण गरिसकेपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठूलो जनधनको क्षति भएकाले मानवीय धर्मअनुसार बैजनाथले तत्कालका लागि त्रिपाल र ब्ल्यांकेट सहयोग गरेको जानकारी दिए ।
‘तत्काल राहत उपलब्ध गराउनुपर्छ भनेर हाम्रो विपद् समिति छ, त्यो समितिमा हामीले यस्ता अकस्मात कोषहरू चाहिँ व्यवस्थापन गरेर राखेका हुन्छौं,’ उनले भने, ‘त्यही कोषबाट हामीले तत्काल २ लाख ५० हजारबराबरको ठूलो त्रिपाल २५ थान र डबल लेन भएको ब्ल्यांकेट १ सय थान उपलब्ध गराएका छौं ।’
आगामी दिनमा औषधी प्याकेज बनाएर सहयोग गर्ने पनि आफूहरूले वाचा गरेको बताए ।
‘तत्काललाई आकाशमुनि बस्नुभएका, तत्काल भौतिक संरचना बनाउन नसकिने अवस्थामा उहाँहरूलाई त्रिपाल र ब्ल्यांकेट आवश्यकता पर्छ, त्यसमा प्याकेज बनाएर कार्पेट, कम्बल, सामान्य खाद्यान्न सबै मिक्स गरेर कम्तिमा एक महिनासम्म पुग्ने गरेर पठाउनुपर्छ भनेर सोही अनुसार हामीले ब्ल्यांकेट र त्रिपाल उपलब्ध गराएका छौं,’ अध्यक्ष शाहीले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले राहत सामग्री हस्तान्तरण गर्नेमा बैजनाथ गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको बताए । अहिलेसम्म अन्य स्थानीय तह कसैले पनि राहत सामग्री हस्तान्तरण नगरेको उनले जानकारी दिए ।