सुर्खेत ।
राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको मृत्यु भएको छ । ६९ वर्षको उमेरमा शाहीको आइतबार बिहान मृत्यु भएको हो ।
दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा उनको निधन भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर केसीले जानकारी दिए ।
कोइराला गाउँबाट रतुवाखोलामा बसाइँ सरेको पाँचौँ दिन महामुखियाको निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको प्रबन्ध गर्न जुटेको छ ।
स्वास्थ्य अवस्था कमजोर भएपश्चात २०६३ सालदेखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुरलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो । २०७१ सालमा ऐनबहादुर शाहीको डुंगेश्वरमा भीरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण मुखियाको जिम्मेवारीमा छन् ।
महिन केही समययता ढाड दुख्ने समस्याबाट पीडित थिए । १८ सन्तानमध्ये उनका सबै सन्तानको मृत्यु भइसकेको थियो । १ वर्षअघि आगलागीमा परेर छोराको मृत्यु भएपछि उनी शोकमा थिए ।
उनका अब श्रीमती र २ जना बुहारी छन् । अहिले राउटेहरू दैलेखको भैरवी गाउँपालिका–३ को छामखोलामा बस्दै आएका छन् । महिनको मृत्युपछि राउटेको संख्या १ सय ४१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्