20 June 2024  |   बिहिबार, असार ७, २०८१

भारतमा ट्रकको ठक्करबाट एकै परिवारका पाँच नेपालीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

बाँके ।

भारतमा सवारी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ ।

कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा रोजगारीको सिलसिलामा गएका सुर्खेत चौकुने गाउँपालिकाका एकै परिवारका सदस्य रहेका छन् ।

भारतीय प्रहरीका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूमा चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

मोटरसाइकलमा सवार उनीहरूलाई कर्नाटक र महाराष्ट्र राज्यको बीच भागमा पर्ने स्थानमा ट्रकले ठक्कर दिएको थियो । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको खबर आएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए ।

वडाध्यक्ष धमलाले दिएको जानकारी अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत रहेकोमा उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । बिरामी दाइलाई भेटेर फर्किने बेला विपरीत दिशाबाट आएको ट्रकले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

‘रतनको परिवार सबै एउटै बाइकमा सवार थिए भन्ने कुरा मैले परिवारबाट बुझेँ,’ वडाध्यक्ष धमलाले भने, ‘अस्पताल र कोठा नजिक पनि भएर होला तीन जना ठूलो र साना बालक सबै एकै ठाउँमा बसेको भन्ने बुझियो ।’

मृतक नेवार परिवारसहित विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यही स्थानमा रहेका थिए । धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो । सुस्मिताका श्रीमान् पनि भारतमै रहेका छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     9:22:10 AM  |