पुस्तक तथा स्टेशनगरी व्यवसायी महासंघ बाँकेको अधिवेशन आज



कोहलपुर ।

पुस्तक तथा स्टेशनगरी व्यवसायी महासंघ बाँके कार्यसमितिको ८औँ अधिवेशन तथा १६औँ साधारण सभा आज नेपालगन्जमा हुँदै छ । प्रमुख अतिथिका रूपमा महासंघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार चौधरीले अधिवेशको उद््घाटन गर्ने कार्यक्रम छ ।

अधिवेशनमा बाँके जिल्लाभरिका पुस्तक तथा स्टेशनगरी व्यवसायीको सहभागिता रहने महासंघका बाँकेका अध्यक्ष किशोरकुमार आचार्यले जानकारी दिए । उनले महासंघमा आबद्ध बाँके जिल्लाका १ सय ८० सदस्य, तिनका परिवार र अन्य व्यवसायीहरूको समेत उपस्थिति रहने आचार्यले जनाए ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिको चयन गर्नेछ । १ सय ८० सदस्यले महासंघ बाँकेको आगामी कार्यसमिति चयन गर्नेछन् । नयाँ कार्यसमितिका लागि सर्वसम्मत ढंगले नेतृत्व चयनको प्रयास गरिने अध्यक्ष आचार्यले बताए ।

‘यो अधिवेशनबाट आगामी नयाँ कार्यसमितिको चयन पनि हुनेछ,’ अध्यक्ष आचार्यले भने, ‘साधारण सभाका क्रममा व्यवसायीका सामूहिक समस्याबारे पनि छलफल गरिनेछ ।’

महासंघ बाँकेमा यस वर्ष १० नयाँ सदस्य थपिएका छन् । महासंघले आफ्नो प्रत्येक साधारण सभा तथा अधिवेशनलाई रमाइलो पारिवारिक वातावरणमा पिकनिकको रूपमा सम्पन्न गर्दै आएको अध्यक्ष आचार्यले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार