घाइतेको उद्धार गर्न निगमको विमान चौरजहारी उड्दै, निजी वायुसेवा पनि तयारी अवस्थामा



काठमाडौं।

जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमले उडान गर्ने भएको छ। निगमले सरकारको निर्देशन लगत्तै काठमाडौं-चौरजहारी विमानस्थल उडानका लागि तयारी गरिसकेको प्रवक्ता रमेश पौडेलले बताए।

‘स्वास्थ्यकर्मीहरु आइसक्नुभएको छ। स्वास्थ्य सामग्री तयारी अवस्थामा छ। हाम्रो ९ एन-एबीटी कलसाइनको ट्विनअटर केही समयमै चौरजहारीतर्फ लाग्‍नेछ,’ पौडेलले भने।

उनका अनुसार केही समयअगाडि नेपाली सेनाको एमआइ-१७ र एउटा स्काइ ट्रक उद्धारका लागि उडिसकेको छ। यता, दुर्गम गन्तव्य उडान गर्दै आएका निजी वायुसेवा कम्पनी जुनसुकै बेला उडान गर्ने तयारीमा रहेको वायुसेवा सञ्‍चालक संघका महासचिव मनोज कार्कीले बताए।

‘हामी जुनसुकै बेला उद्धार उडानका लागि तयारी अवस्थामा छौं। उता नेपालगन्जमा भएका जहाज पनि तयारी अवस्थामा छन्। सरकारबाट निर्देशन आएलगत्तै हामी उडान गरिहाल्नेछौँ,’ महासचिव कार्कीले भने।

जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट १२८ जनाको मुत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार जाजरकोटमा ९२ जना र पश्‍चिम रुकममा ३६ जनाको मुत्यु भएको हो।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार