बाँके ।
क्यान्सर रोगसँग लडिरहेका राप्तीसोनारी गाउँपालिका–९ महादेवा घर भई कोहलपुर मदनचोकमा बस्दै आएका दीपक कुँवरको उपचारमा समस्या भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका क्यान्सरपीडित दीपकको उपचारमा आर्थिक समस्या भएको हो ।
आन्द्रामा क्यान्सर भएका ३२ वर्षीय दीपकको उपचार सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा भइरहेको बुबा लोकबहादुर कुँवरले
बताए । छोराको रोग पत्ता लगाउनका लागि नै ६÷७ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।
‘छोराले पेट दुखेको भनेपछि कोहलपुर, नेपालगन्जका विभिन्न अस्पतालमा उपचार गरायौं,’ बुबा लोकबहादुरले मिसन टुडेसँग भने, ‘कतै पनि उपचार गर्दासमेत निको नभएपछि डेढ महिना पहिला एमआरआई गर्दा क्यान्सर भएको पत्ता लाग्यो ।’
दिसा बन्द भएपछि त्यसलाई खुलाउनका लागि क्यान्सर अस्पताल खजुराले मेडिकल कलेज कोहलपुर पठाएको उनले बताए । कोहलपुरमा समेत अपरेसन हुनुका साथै खजुरामा क्यान्सर फैलिन नदिनका लागि किमो दिइरहेको बुबा लोकबहादुरले जानकारी दिए ।
‘दिसा पास गराउनका लागि गरिएको अपरेसन ठिक भएपछि क्यान्सरको थप उपचार गर्ने खजुरा क्यान्सर अस्पतालका डाक्टर साबहरूले बताउनुभएको छ,’ उनले भने, ‘उपचारमा धेरै पैसा लाग्छ भन्नुभएको छैन । हामीसँग भएको सबै पैसा सकियो ।’
उनले छोरालाई बचाउनका लागि सबैलाई सकेजति आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । दीपकको उपचारमा आर्थिक सहयोगका लागि उनकी आमा भगवती कुँवरको नाममा लक्ष्मी बैंक कोहलपुर शाखामा भएको खाता नम्बर ०३३२३०२१६७५ रकम जम्मा गर्न सकिनेछ ।









प्रतिक्रिया दिनुहोस्