कोहलपुर ।
आजदेखि कोहलपुरमा मुख्यमन्त्री कोहलपुर गोल्ड कप सुरु हुँदैछ । गोल्ड कपको सम्पूर्ण तयारी पूरा भइसकेको मंगलबार आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जानकारी दिएको थियो ।
आजदेखि सुरु भएको गोल्ड कप आगामी कार्तिक २२ गतेसम्म चल्नेछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बुुधबार गोल्ड कपको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोल्ड कपको उद्घाटन खेल दिउँसोको २ बजे आयोजक रेसिङ सहारा क्लब बाँके र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।
गोल्ड कपमा ८ वटा राष्ट्रिय टिम सहभागी हुने भएका छन् । जसमा कोहलपुर रेसिङ साहारा क्लब बाँके, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस् क्लब बुटवल, एमिनियर एफसी क्लब क्यामरुन, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, सुदूरपश्चिम ११ स्पोर्टस् क्लब धनगढी, विएफसी चितवन क्लब र दुधौली स्पोर्टस् क्लब सिन्धुली सहभागी हुनेछन् ।
यसपटक प्रत्येक खेलाडीको बिमा गरिएको र वृद्धवृद्धा तथा अशक्तहरूलाई बसेर खेल हेर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको तयारीका क्रममा ३ हजार दर्शक अटाउन सक्ने अस्थायी प्यारापिट निर्माण र दुई वटा मुख्यद्वार तथा २ वटा आपतकालीन द्वारसमेत निर्माण सम्पन्न भएको कोहलपुर गोल्ड कपका संयोजक रामबहादुर मल्लले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
खेलस्थलमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा घुम्ती शौचालयको समेत व्यवस्था गरिएको र दर्शकदिर्घामा १० जना निजी सुरक्षा गार्ड, नगर प्रहरी तथा नेपाल प्रहरी समेत सुरक्षाका लागि तैनाथ गरिएकोे कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्