13 July 2024  |   शनिबार, असार ३०, २०८१

कर्णालीका यात्रु नेपालगन्ज एयरपोर्टमै अलपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ५, २०८०  

बाँके ।

दसैँको रौनक आइसकेको छ तर कर्णाली प्रदेशका धेरै नागरिक पर्याप्त हवाई उडान नहुँदा नेपालगन्ज विमानस्थलमै अलपत्र परेका छन् । उनीहरू कहिले उड्छन् भन्ने यकिन छैन । टिकट नपाउँदा सर्वसाधारण अलपत्र परेका हुन् । टिकट नपाउँदा उनीहरू राँझाका होटलहरूमा बस्न बाध्य भएका छन् ।

स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।

निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको एक यात्रुले बताए । उनका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।

तर नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका स्टेसन प्रमुख मानबहादुर चौधरीले अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको बताए । ‘यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,’ उनले भने, ‘अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।’

यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो ।

प्रकाशित मितिः आइतवार, कार्तिक ५, २०८०     7:52:18 AM  |