दसैंमा नेपाल एयरलाइन्सको कर्णालीका हिमाली जिल्लामा नियमित उडान



बाँके ।

दसैंमा यात्रुको चापलाई ध्यानमा राखेर नेपाल एयरलाइन्सले नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ । आउँदो मंगलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले जानकारी दिए ।

‘दसैंमा नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगन्जलगायतका स्थानमा फर्किनेहरूका लागि दैनिक उडानको योजना बनाएका छौं,’ उनले भने, ‘आउँदो मंगलबारदेखि चार/पाँच दिन नेपालगन्जबाट दैनिक उडान हुनेछ ।’

कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगन्जबाट कर्णालीका हुम्ला र मुगुमा मंगलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान हुनेछ । त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगन्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मंगलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान गर्नेछ ।
नेपालीहरूका महान् पर्व दसैं, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि हिमाली जिल्लामा नियमित उडान गर्ने तयारी गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले यात्रुहरूको सहजताका लागि उडान थप्न निर्देशन दिएपछि थप उडान राखिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिए । नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाईन र सम्बन्धित कार्यालयमा पुगेर यात्रुहरूले लिनसक्ने व्यवस्था मिलाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

हिमाली जिल्लामा जान यात्रुहरूको चाप बढेपछि दैनिक नियमित उडान राखिएको बताइएको छ । यी हिमाली जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाइ यातायात नै आवत जावतको मुख्य विकल्पको रूपमा रहेको छ ।

यसअघि नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिमका जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो । तर अहिले दसैंलाई मध्यनजर गर्दै एयरलाइन्सले उडान थप्दै सबै हिमाली विमानस्थलमा दैनिक उडानको तालिका राखेको छ ।

निजी एयरलाइन्सहरू समेत नेपालगन्जबाट यी सेक्टरमा उडान गरे पनि पप्र्यात मात्रामा जहाज नहुँदा तराईबाट घर फर्किने र हिमाली जिल्लाबाट चाडबाड मनाउन घर फर्किने कर्मचारीहरूले सास्ती भोग्दै आएका छन् ।

निजी एयरलाइन्सले पर्यटकीय सिजन सुरु भएकाले आफ्ना जहाजहरूलाई पूर्वी क्षेत्रमा पठाएका छन् ।

हवाई टिकट पाउनै समस्या 

दसैँ नजिकिँदै गर्दा सिमकोटबाट नेपालगन्ज जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रूपमा उडान नहुनु, टिकट महँगो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।

सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आएकी पवित्रा परियारले नेपालगन्ज जाने टिकट नपाएर यहीँ बस्नुपरेको बताइन् । उनले ११ दिनदेखि नेपालगन्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् ।

दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि परियारले टिकट सकिएको जवाफमात्र पाउने गरेकी छिन् ।

नेपालगन्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले मात्र दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २८ गते आइतबार