धानमा देखाप¥यो ‘कालोपोके’ रोग



दाङ ।

दाङका किसानले लगाएको धानमा कालोपोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालोपोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोटमा कालो पोको हुने र धानका गेडा नष्ट हुनेगर्छ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् ।

‘धानमा कालोपोके रोगले सताएको छ । फलेका गेडामा कालोपोके लागेको छ,’ दङ्गीशरण–४ का थम्मनबहादुर रेउलेले भने, ‘यो वर्ष उत्पादन घट्ने भयो ।’ यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उनको भनाइ थियो ।

‘यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुप¥यो,’ स्थानीय जयलाल वलीले भने, ‘धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।’ बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका उनको भनाइ थियो ।

कालोपोके बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताए ।

किसानलाई एग्रोभेटबाट हाइब्रिड बीउभन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उनीहरूले हाइब्रिड बीउले धेरै उत्पादन दिन्छ भनेर लगाएको उनले बताए । आगामी वर्ष हाइब्रिड बीउ नलिने र लिए पनि उपचार गरे/नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उनको भनाइ थियो ।

‘हाइब्रिड जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ । त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ,’ डाँगीले भने, ‘नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन् ।’

  • No tags available
प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार