पश्चिम नेपालबाट बाहिरियो मनसुन



काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन पश्चिम नेपालबाट बाहिरिएको छ।

पछिल्लोपटक कर्णाली प्रदेशको सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको अधिकांश भू-भाग तथा गण्डकी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका अधिकांश भू-भाग र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन यस अघि नै बाहिरिएको थियो।

विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार