बाँके ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । सोमबार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा मन्त्री सवार लु१झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
सडकमा एक्कासि आएका बालकलाई बचाउन खोज्दा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) जनकबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार गाडी दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति भने भएको छैन । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै देउखुरी (मन्त्रालय) जाने क्रममा गाडी दुर्घटनामा परेको थियो ।
गाडी दुर्घटनामा परे पनि कसैलाई चोट नलागेको प्रहरीले जानकारी दिएको छ । गाडीमा मन्त्री, स्वकीय सचिव शम्भु रेग्मी, चालक मानबहादुर बंशी मगर, पिएसओ मनबहादुर चिदी र नारायण मगर सवार थिए ।
गाडी नहेरी बच्चाले दौडेर बाटो काट्दा उनलाई बचाउन खोज्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्