12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

कात्तिक १ गतेदेखि नापी र मालपोत कार्यालय कोहलपुरले सेवा प्रवाह गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०८०  

कोहलपुरमा सञ्चालनमा आउन लागेका मालपोत र नापी कार्यालयको कार्यक्षेत्र कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका सबै वडाहरू तथा राप्तीसोनारी गाउँपालिकाका १, २, ८ र ९ नम्बर वडाहरू रहेका छन् ।

तीन पालिकाका २७ वडाका नागरिकहरू कात्तिक १ गतेदेखि भूमिसम्बन्धी कामका लागि नेपालगन्ज जानुपर्ने छैन । मालपोत र नापी कार्यालय कोहलपुरका लागि दरबन्दी भएर आवश्यक कर्मचारीहरू समेत पठाइसकिएको छ ।

बाँके ।

उद्घाटन भएको एक वर्षपछि कोहलपुरमा आगामी कात्तिक १ गतेदेखि नापी र मालपोत कार्यालय सञ्चालनमा आउने पक्का भएको छ । पटक–पटक मिति तोकेर पनि सञ्चालनमा आउन नसकेका दुवै कार्यालय कात्तिक १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी पूरा भएको छ ।

कोहलपुरस्थित कार्यालयबाटै कामकाज सुरु गर्नका लागि डेकोरेसनलगायतका आवश्यक सबै तयारी पूरा भइसकेकाले सञ्चालनमा आउने पक्का भएको हो । कार्यालय सञ्चालनका लागि कोहलपुर टाउनको गोलपार्कमा दुईवटा घर भाडामा लिइएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले कात्तिक १ गतेदेखि कामकाज सुरु गर्नेगरी तयारी अन्तिम रहेको जानकारी दिए । उनका अनुसार कोहलपुरका कार्यक्षेत्रमा रहेका साविक गाविसहरूको काम असोज २६ गतेदेखि मातपोत नेपालगन्जबाट हुनेछैन ।

‘कोहलपुरका कार्यालय सार्नका लागि असोज २६ गतेबाट नै नेपालगन्जबाट कामकाज नहुने भनेर सूचना जारी गरिसकेका छौं,’ कार्यालय प्रमुख दाहालले मिसन टुडेसँग भने, ‘कात्तिक १ गतेबाट कोहलपुरस्थित कार्यालयबाटै कामकाज सुरु हुन्छ ।’

मालपोत कार्यालय नेपालगन्जले सोमबार सूचना जारी गरेर कात्तिक १ गतेबाट कोहलपुरबाट सेवाप्रवाह हुने भएकाले असोज २६ गतेदेखि ३० गतेसम्म नेपालगन्जबाट कोहलपुर कार्यालय कार्यक्षेत्रको कामकाज नहुने जानकारी गराएको छ । नापी कार्यालय नेपालगन्जले समेत कोहलपुर कार्यालयको कार्यक्षेत्रमा पर्ने साविकका गाविसको कामकाज असोज २६ देखि ३० गतेसम्म नहुने सूचना जारी गरेको छ ।

दुवै कार्यालयले कोहलपुरमा कामकाज सञ्चालनका लागि आवश्यक पर्ने कागजात नेपालगन्जबाट कोहलपुरमा सार्नका लागि पाँच दिन कोहलपुरको कार्यक्षेत्रमा पर्ने स्थानहरूको कामकाज रोकेका हुन् ।

मातपोत कार्यालय कोहलपुरका प्रमुख दाहालले तत्काल भाडाको घरमा कार्यालय सञ्चालनमा आउन लागेको जानकारी दिए । ‘कार्यालय सञ्चालनका लागि केही महिनाअघि नै घर भाडामा लिइसकेका छौं,’ उनले भने, ‘त्यहाँ डेकोरेसनलगायतका प्राविधिक सेटअफ भइसकेको अवस्था छ । नेपालगन्जबाट श्रेस्ता लिएर गएपछि कामकाज सुरु हुन्छ ।’

कोहलपुर कार्यालयका लागि ३३ जना विभिन्न तहका कर्मचारीहरूको दरबन्दी समेत स्वीकृत भइसकेको कार्यालय प्रमुख दाहालले जानकारी दिए । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

स्वीकृत दरबन्दीअनुसार नापीको कोहलपुर कार्यालयमा एक उपसचिव, दुई नापी अधिकृत, चार नापी सर्वेक्षक, ६ अमिन, एक कम्युटर सहायक, एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् । अन्य चार जना कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको नापी कार्यालय कोहलपुरले जनाएको छ ।

नापी र मालपोत कार्यालय कोहलपुरबाट कामकाज सुरु भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगन्ज जानुपर्दैन । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगन्ज जानुपर्ने अन्त्य हुनेछ ।

कोहलपुर नगरपालिकाले दिएको नगर विकास समितिको भवन जीर्ण र साँघुरो भएपछि दुवै कार्यालय भाडाको घरमा सञ्चालनमा आउन लागेका हुन् । फरकफरक घरमा नापी र मालपोत कार्यालय सञ्चालन हुनेछन् । कार्यालय सञ्चालन गर्ने घरको भाडा सम्बन्धित कार्यालय आफैँले तिर्नेगरी बजेट नै विनियोजन भएको छ । दुवै कार्यालयले मासिक ५० हजार रूपैयाँ तिर्नेगरी केही महिनाअघि घरभाडा सम्झौतासमेत गरिसकेका छन् ।

‘आफ्नै भवन नभएको र अन्य सरकारी भवनसमेत उपलब्ध नभएकाले आफैँ भाडा तिरेर अहिले कार्यालय भाडाको भवनमा सञ्चालनमा ल्याउन लागेका हौं,’ नापी कार्यालय कोहलपुर स्रोत भन्यो, ‘भाडाकै भवनबाट भए पनि सेवाग्राहीलाई हामी सेवा दिन तयार छौं । जग्गा प्राप्त भए, आफ्नै भवन निर्माणका लागि बिस्तारै बजेट विनियोजन हुनसक्छ ।’

प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०८०     9:57:49 AM  |