बाँके ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आठौं दिन आइतबार पनि विभिन्न माग राखी आन्दोलन जारी राखेका छन् । काठमाडौंको माइतीघर मण्डलासहित देशभरका पालिकाहरूमा भेला भएर उनीहरूले आन्दोलन जारी राखेका हुन् ।
कर्मचारीहरूको आन्दोलनका कारण स्थानीय तहहरूमा कामकाजमा समेत अवरूद्ध भएको छ । बाँकेका ८ वटै स्थानीय तहका कर्मचारीहरूले दैनिकजसो धर्ना दिने गरेका छन् ।
स्थानीय तहका कर्मचारीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्नेलगायतका माग राखेका छन् ।
स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तर प्रदेश सरुवा, बढुवालगायतका २० बुँदे माग राखेर आफूहरू आन्दोलनमा गएको नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार काठमाडौं केन्द्रित आन्दोलनका लागि बाँकेबाट समेत कर्मचारीहरू काठमाडौं पुगेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् ।
स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्नेलगायतका माग रहेको अधिकारीले बताए ।
उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर्, अन्तर प्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर्लगायतका प्लेकार्ड बोकेर विरोध जनाउने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्