२५ तस्बिरमा जनविश्वास सहकारीको २१औँ साधारण सभा



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–२ मा अवस्थित जनविश्वास सहकारी संस्थाको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सूर्य ढकाल र विशिष्ट अथिति कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आर्चायले संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति ढकालले आर्थिक मन्दीका बीच पनि जनविश्वास सहकारी संस्थाले आफ्नो विश्वास टुट्न नदिई सेयर सदस्यहरूको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यसरी नै सफलता प्राप्त गर्ने उद्देश्यका साथ अगाडि बढ्न सेयर सदस्य र सञ्चालक समितिलाई आग्रह गरे ।

यस्तै, संविधानसभा सदस्य देवराज भारले सहकारीलाई अगाडि बढाउन एक जना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरूको उत्तिकै भूमिका रहने बताउँदै सबै सदस्यलाई मिलेर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सहकारी ऐनलाई मर्यादित रूपमा कार्यान्वयन गर्न आह्वान गरे । उनले स्थानीय सरकारबाट समन्वय र सहकार्य गर्न आफू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा विभिन्न बचतकर्ताहरूलाई सम्मान गरिएको थियो । ५८ जनाको सक्रियतामा सानो सेयर पुँजीबाट सुरु भएको सहकारीमा हाल ३ हजार ६ सय ४० जना सेयर सदस्य रहेको जनविश्वास बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकाका विभिन्न ठाउँमा आफ्नो कार्यक्षेत्र विस्तार गरी सेवा प्रवाह गर्दै आएको यस सहकारी संस्थाले अहिले बैजनाथ गाउँपालिकाको सम्झनामा समेत सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आएको उनले बताए ।

संस्थाको आर्थिक वर्ष २०७९/०८० मा पुँजीतर्फ १६ करोड ४ लाख २५ हजार ३ सय ३१ रूपैयाँ कायम हुन गएको अध्यक्ष शर्माले जानकारी दिए । विद्यमान आर्थिक मन्दीमा पनि सहकारी संस्थाले विगत वर्षजस्तै चालु आर्थिक वर्षमा सम्पूर्ण खर्च कटाई १७ लाख ७६ हजार ६२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको उनले बताए ।

कार्यक्रमको सञ्चालन जनविश्वास सहकारी संस्थाका प्रमुख का र्यकारी अधिकृत माधव पोखलेरले गरेका थिए ।

 

 

  • No tags available
प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार