13 July 2024  |   शनिबार, असार ३०, २०८१

लुम्बिनी विश्वविद्यालयमा पढ्न विद्यार्थीको रुचि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २१, २०८०  

नेपालगन्ज ।

बाँकेमा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा पढ्न विद्यार्थीले चासो देखाएका छन् । विश्वविद्यालय स्थापनाको एक वर्षपछि गत भदौ ६ गते दुईवटा कार्यक्रमका लागि भर्ना खोलिएको थियो । सबै संकायमा ५० भन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारी भन्छन्, ‘विद्यार्थीले परीक्षा फारम भर्नुभएको छ । उहाँहरूले आईटी पढ्ने रुचि राखेको पाएँ । आगामी दिनमा यो संख्या अझ बढ्छ ।’ विश्वविद्यालयले ‘बिटेक इन आईटी’ र ‘बिटेक इन सिएस एन्ड एआई’ कार्यक्रममा भर्ना खोलेको थियो । असोज ६ गते फारम भर्ने अन्तिम समय कायम गरिएकोमा फेरि म्याद थप गरी त्यसको समयसीमा आजसम्म तोकिएको छ । दुईवटा कार्यक्रममा ४८/४८ विद्यार्थीको कोटा तोकिएको छ ।

भण्डारीका अनुसार तत्कालका लागि खजुरामा पूर्वाधार तयार नभएकाले हाल मुख्य कार्यालय रहेको ठाउँमै पढाइ हुनेछ । विश्वविद्यालय स्थापनाको एक वर्षसम्म पनि विश्वविद्यालयको पूर्वाधार निर्माणको काम हुन सकेको छैन । पूर्वाधार पनि कुन ठाउँमा निर्माण गर्ने भन्ने यकिन छैन । तर खजुरामा प्रस्तावित जग्गामा भने केही प्रगति भएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले चालू शैक्षिक सत्रबाट कक्षा सञ्चालन गरिने घोषणा यसअघि नै गरिसकेका छन् ।

उपकुलपति ढकालका अनुसार चालू शैक्षिक सत्रबाट ‘बिटेक इन आईटी’, ‘बिटेक सिएस एन्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ’लगायत पाँच वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ । तर हाल दुईवटा कार्यक्रममा भर्ना खोलिएको छ । अर्को वर्षको शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन हुने उपकुलपति ढकाल बताउँछन् ।

उनका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ र सूचना प्रविधि र निकट भविष्यमा दाङ र रुपन्देहीमा कृषि, वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुनेछन् । तर यी कार्यक्रम सञ्चालनका लागि पूर्वाधार खोज्न सकस परेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका–८ मा प्रस्ताव गरिएको छ । त्यहाँको एक सय बिघा जग्गा विश्वविद्यालयको नाममा गर्ने वा लिजमा दिने भन्ने रायसहित गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सरकारसँग अनुमति मागेको थियो । त्यसमा मन्त्रालयले सकारात्मक सहयोग गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान) बताउँछन् ।

विश्वविद्यालय स्थापनाकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपतिले वर्षदिन पूरा हुँदा पनि पूर्वाधार निर्माणको काममा प्रगति नहुनु दुःखद भएको बताउँदै भने, ‘तत्काल पूर्वाधार निर्माण हुन नसक्ने अवस्था छ भने जनक शिक्षा सामग्री केन्द्रको भवन वा अन्य कुनै विकल्प खोजेर खजुरामै विश्वविद्यालयको कार्यालय राख्नुपर्छ र पढाइ पनि त्यहीँ सुरु गर्नुपर्छ ।’

कक्षपतिले जनक शिक्षा सामग्री केन्द्रको भवन सबैभन्दा उत्तम विकल्प भएको बताउँदै त्यसका लागि केन्द्रीय सरकारलाई जसरी पनि मनाउनुपर्ने बताए । ‘त्यो दिन मानिरहेका छैनन् भन्ने सुनेको छु तर विश्वविद्यालयलाई पूर्वाधार सम्पन्न बनाउन लाग्ने हो भने जसरी पनि जनक शिक्षाको भवनलाई उपयोग गर्नुपर्छ,’ कक्षपतिले भने ।

लुम्बिनी प्रदेश विश्वविद्यालयको काम तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा अघि बढेको थियो भने कुलप्रसाद केसीको पालामा राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको थियो । खजुरामा एक सय बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकेमा विश्वविद्यालय स्थापना भएको कक्षपति बताउँछन् ।

प्रकाशित मितिः आइतवार, अशोज २१, २०८०     8:48:12 AM  |