कोहलपुर ।
साहित्यकार डा. नारायणप्रसाद शर्मा गैरे बद्रीविक्रम–पूर्णिमा वाङ्मय सम्मानद्वारा सम्मानित तथा पुरस्कृत भएका छन् । त्यसैगरी, कवि नवीन अभिलाषीले यस वर्षको बद्रीविक्रम युवा प्रतिभा सम्मान प्राप्त गरेका छन् । शनिबार कोहलपुरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले दुवै स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
स्वर्गीय बद्रीविक्रम थापाका नाममा स्थापित वाङ्मय सम्मान यस क्षेत्रमा नेपाली वाङ्गमय क्षेत्रमा विशिष्ट योगदान पु¥याएबात र युवा प्रतिभा सम्मान यस क्षेत्रका उदीयमान एक स्रष्टालाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले गत वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । दुवै पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।
सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि रोदनले बद्रीविक्रम थापाजस्तो कुशल र इमान्दार प्रशासकका नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाउनु गर्वको कुरा भएको बताए ।
‘अहिले साहित्यका नाममा पुरस्कार र सम्मात त थुप्रै छन्,’ उनले भने, ‘तर त्यो सम्मान पाएर स्रष्टा समाजमा साँच्चै सम्मानित हुन्छ कि हुँदैन त्यो महत्वपूर्ण कुरा हो ।’ बद्रीविक्रम थापाका नाममा स्थापित पुरस्कारले स्रष्टालाई साँच्चिकै गर्वानुभूति गराउने उनले बताए । उनले थापा आफू जहाँ–जहाँ प्रशासकका रूपमा बसेका थिए ती ठाउँको भाषा, साहित्य, संस्कृति र शिक्षाका क्षेत्रमा प्रदान गरिने गरी ११ जिल्लामा यस्तो पुरस्कारको स्थापना गरिएको जानकारी पनि दिए ।
त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मीले २०१४ सालतिर बद्रीविक्रम थापा बडाहाकिम भएर नेपालगन्ज आउँदा उनीसँग भएको भेटका प्रसंग उठाएका थिए । ‘मेरो घरको छेवैमा उहाँको ससुराली घर थियो,’ उनले भने, ‘उहाँ बेलाबेला त्यहाँ आउँदा मकहाँ आउने गर्नुभएको थियो ।’ थापालाई आफूले एक जना इमानदार प्रशासकका रूपमा पाएको उनले बताए । उनले सम्मानित स्रष्टाद्वयलाई बधाई दिँदै नेपाली साहित्यमा दुवै स्रष्टाको योगदान महत्वपूर्ण भएको र भविष्य पनि उज्वल रहेको बताए ।
समारोहमा सम्मानित स्रष्टाद्वयले पनि आ–आफ्ना भनाइ राखेका थिए । सम्मानित स्रष्टा डा. गैरेले यस क्षेत्रमा शिक्षण गर्दाताकाका आफ्ना अनुभव सुनाएका थिए । आफूले पढाएका विद्यार्थीहरू यो देशका जिम्मेवार नागरिक भएको देख्न पाउँदा आफू गौरवान्वित भएको बताए । उनीहरूले आफूप्रति गर्ने आदर र सम्मान अर्बौंको नगदभन्दा ठूलो पुँजी भएको उनले बताए । बेलाबेला जुर्ने यस्तै अवसरहरूले आफूलाई ठूलो खुसी मिल्ने गरेको उनको भनाइ थियो ।
अर्का सम्मानित स्रष्टा अभिलाषीले पुरस्कार तथा सम्मानले आफूलाई अझ जिम्मेवारी थपेको महसुस भएको बताए । दर्शक श्रोताको आग्रहमा उनले आफ्नो एउटा कविता पनि वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानकी उपाध्यक्ष तथा कथाकार सुमित्रा न्यौपानेले प्रतिष्ठानका साहित्यिक गतिविधिका बारेमा प्रकाश पारेकी थिइन् । उनले पूर्णिमाकै पूर्व नेतृत्वबाट आज नेपाल प्रज्ञा प्रतिष्ठानसम्म प्रतिनिधित्व हुनु खुसीको कुरा भएको बताइन् । ‘महानन्द ढकाल आज प्रज्ञा प्र्रतिष्ठानका सदस्य हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँ कुनैबेला हाम्रो पूर्णिमा साहित्य प्र्रतिष्ठानको अध्यक्ष हुनुहुन्थ्यो । यो हाम्रा लागि गर्वको कुरा हो ।’
प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षता एवम् सचिव खोपीराम भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य शशिराम कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, धरा कला भाषा साहित्य प्रतिष्ठान बाँसगढीका अध्यक्ष ईश्वरीप्रसाद रिजाल, खजुरा साहित्य प्रतिष्ठानका अध्यक्ष ईन्द्र भण्डारीलगायत साहित्यकार तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्