वडाध्यक्ष विष्टसहित ३ जना धरौटीमा रिहा



सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा रिहा भएका छन् ।

रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट बिहीबार धरौटीमा रिहा भएका हुन् । उच्च अदालत सुर्खेतको संयुक्त इजलासले विष्टलाई धरौटीमा छोड्न आदेश दिएको इजलास अधिकृत विनोद आचार्यले जानकारी दिए ।

गत साउन २१ गते जिल्ला अदालत सुर्खेतले उनीसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले वडाध्यक्ष विष्टसँगै सुशील भनिने प्रेम गुरुङ र बलिराज शाहीलाई पनि कारागार चलान गर्न आदेश दिएको थियो ।

उच्च अदालतले वडाध्यक्ष विष्टलाई ५ लाख, सुशील भनिने प्रेमलाई ४ लाख र बलिराजलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको इजलास अधिकृत आचार्यले बताए । उनीहरूविरूद्ध गत असार २२ गते सुर्खेत प्रहरीमा जाहेरी परेको थियो । स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए ।

वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो । वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ गते रकम लुटेर लिएको जाहेरीमा उल्लेख गरिएको छ ।

जाहेरीका आधारमा प्रहरीले विष्टसहित ५ जनालाई पक्राउ गरेको थियो । पुर्पक्षका लागि कारागार चलान भएकाबाहेक दुई जना (सन्तोष थापा र यामराज शाही) लाई भने जिल्ला अदालत सुर्खेतले नै २÷२ लाख रुपैयाँ धरौटीमा छोड्न फैसला दिएको थियो । उक्त घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन गरिसकेको छ ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रबार