बाँके ।
साढे ३ अर्ब रुपैयाँ निजी लगानीमा लुम्बिनी सेरामिक्स लिमिटेड सञ्चालनमा आउने भएको छ । लुम्बिनी सेरामिक्सले वार्षिक ४ करोड १० लाख वर्गमिटर ‘ग्लेज्ड भिट्रिफाइड फ्लोरिङ’ र वाल टाइल्स उत्पादन गर्नेछ ।
बर्दिया गुलरियामा अहिले उद्योगको पूर्वाधार निर्माण जारी छ । गत असारसम्म उद्योगको १४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । आगामी सन् २०२४ को अन्त्यसम्म लुम्बिनी सेरामिक्सलाई सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
लुम्बिनीले ३ अर्ब १८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत संस्थापकको (स्वपुँजी) हुने गरी लगानी संरचना तयार पारिएको छ ।
लुम्बिनी सेरामिक्स २०१९ मा स्थापना भएको थियो । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लुम्बिनी २०२३ मा पब्लिक लिमिटेडमा परिणत भएको हो ।
सुब्रत धिताल उद्योगका अध्यक्ष हुन् । लुम्बिनीमा उनको ३१ प्रतिशत स्वामित्व छ । बाँकी मंगलम समूहको बहुमत स्वामित्व छ । १५.९ प्रतिशतका दरले श्यामसुन्दर खेतान, आशुतोष खेतान, शशी चुरिवाला र सिनी खेतानको स्वामित्व छ ।
अहिले उद्योगको सिभिल निर्माणको काम जारी छ । उद्योगमा मेसिनरी प्लान्ट आयातको तयारी भइरहेको छ । आयातका साथै उपकरण जडानको काम एकसाथ अघि बढाउने बताइएको छ ।
निर्धारित समयमै उद्योगको निर्माण सम्पन्न गर्नुपर्ने दबाब छ । यदि ढिलाइ हुन गए लागत बढ्न गई उद्योगको वित्तीय प्रोफाइलमा असर पर्ने देखिन्छ । मंगलम समूह सिपिभिसी पाइप र पानी ट्याङ्कीसहित निर्माण सामग्री उत्पादन साथै आयात, हार्डवेयर, सेनेटरी, बाथरूम, प्लम्बिङ र फिनिसिङ सामान बिक्री वितरणमा संलग्न छ ।
प्रतिक्रिया दिनुहोस्