नेपालगन्ज उद्योग बाणिज्य संघको महासचिवमा रानाभाट



नेपालगन्ज ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजालसले नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटविरुद्ध परेको रिट खारेज गरेको छ ।

भदौ २ गते भएको निर्वाचनमा ६ मतले विजयी भएका रानाभाटविरुद्ध अर्का उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै रिट हालेका थिए । रानाभाटले एक हजार ९ सय २६ मत ल्याउदा शर्माले १ हजार ९ सय २० मत ल्याएका थिए ।

प्रमुख निर्वाचन आयुक्तले विजयी घोषणा गर्नुअघि नै शर्माले पुनः मतगणनाको माग राख्दै निवेदन दिएका थिए ।

त्यसको बाबजुद प्रमुख निर्वाचन आयुक्त टीका सिंहले रानाभाटलाई विजयी घोषणा गरेका थिए । प्रमुख निर्वाचन आयुक्त सिंहले फेरि दबाबमा परेर पुनः मतगणना हुने सूचना जारी गरेपछि विवाद बढेको थियो ।

पुनः मतगणना गर्ने सूचना जारी गरे पनि सिंहले फेरि नगन्ने भनेपछि शर्मा अदालत गएका थिए । सोमबार न्यायाधीशद्वय भानुभक्त न्यौपाने र पुनमसिंह चन्दको इजलासले शर्माको रिट खारेज गर्दै निर्वाचन आयुक्तले विजयी घोषणा गरेको कुरालाई मान्यता दिने फैसला गरेको हो ।

योसँगै महासचिवको विवाद टुंगिएको छ । संघमा महासचिवबाहेक अरूले शपथ खाइसकेका छन् ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार