नेपालमा अझै मनसुन सक्रियः धान नकाट्न र काटेको भित्र्याइहाल्न आग्रह



बाँके ।

नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार सामान्यतया अक्टोबर २ देखि मनसुन बाहिरिने गरेको भए पनि नेपालमा अझै मनसुन सक्रिय देखिएको छ । विभिन्न विश्लेषणका आधारमा सोमबार नै मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार अझै मनसुन बाहिरिन झन्डै हप्ता दिन लाग्नसक्ने अनुमान गरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ ।

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले जानकारी दिए । ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्र्याइहालौँ,’ उनले भने, ‘काट्ने बेलाको धान छ भने नकाटौँ । दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ ।’

नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । नेपालको कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।

भारतको उडिसा, छत्तीसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । जल तथा मौसम विज्ञान विभागले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ ।

पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यसवर्ष पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको हो ।

यो वर्ष नेपालमा जुन १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो । सुरुमा कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार