औद्योगिक करिडोर बन्दै गनापुर



बाँके ।

बाँके जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा ठूला उद्योग खुल्ने क्रम बढ्दै गएको छ ।

तर बाटोलगायतका पूर्वाधार नहुँदा समस्या उत्पन्न भएको छ । औद्योगिक करिडोरका रूपमा विकास हुँदै गएको जानकी गाउँपालिका–६, गनापुरमा ६३ वटा ठूला उद्योग सञ्चालनमा रहेका छन् भने नयाँ उद्योग खुल्ने क्रम पनि जारी छ ।

गनापुर औद्योगिक क्षेत्रका रूपमा विकास भइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली बताउँछन् । उनका अनुसार गनापुरमा सिमेन्ट, आइरन, खाद्य, इट्टा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका छन् ।

लगानीकर्ता आकर्षित हुन थालेपछि गाउँपालिकाले पूर्वाधार विकासमा थप लगानी गर्नुपर्ने भए पनि चासो दिएको छैन । गनापुर क्षेत्र कोहलपुर–नेपालगन्ज राजमार्गमा जोडिएको र नेपालगन्जबाट नजिक भएकाले यहाँ उद्योग थपिने क्रम बढ्दै गएको हो । गनापुरदेखि पश्चिम जाने बाटोको दुवैतर्फ लहरै उद्योग स्थापना भएका छन् ।

यस क्षेत्रमा ठूला उद्योगका साथै सवारीसाधनका सोरुम, ठूला र स्तरीय होटल रहेका छन् । नेपालगन्जमा ठूला उद्योग स्थापना गर्न जमिनको अभाव रहेको र अति नै महँगो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष ओलीले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकाले पनि उद्योगी व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको बताए ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार