बाँके ।
नेपाली कांग्रेस बाँकेले आफ्ना कार्यकर्ताहरूलाई दक्ष र थप जागरुक बनाउन प्रशिक्षण दिन थालेको छ । सोही क्रममा शनिबार पालिका तथा वडा सभापतिहरूका लागि एकदिने प्रशिक्षण कार्यक्रम नेपालगन्जमा गरिएको थियो ।
कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा आयोजित प्रशिक्षणमा बाँकेका ८ वटै पालिकाका सभापति तथा ८१ वटा वडाका सभापतिहरूलाई प्रशिक्षण दिइएको प्रशिक्षण शाखाका सचिव उमा थापामगरले जानकारी दिइन् ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले कार्यकर्ताहरूको वैचारिक धार चम्काउनका लागि पार्टी प्रशिक्षण आवश्यक भएको बताए ।
पार्टीको प्रशिक्षण विभागले, प्रदेशभरिका पार्टीको विभिन्न संरचना मातहतका कार्यकर्ताहरूलाई प्रशिक्षण गरी दक्ष कार्यकर्ता तयार गर्ने भन्दै संगठनको सिद्धान्त, विचार नीतिका बारेमा हरेक कार्यकर्तालाई जानकारी हुनुपर्नेमा जोड दिए ।
कांग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले पार्टी प्रशिक्षण कार्यक्रमलाई जिल्लाव्यापी रूपमा विस्तार गर्ने भन्दै अहिले वडा र गाउँपालिका नेतृत्व तहबाट प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताए ।
पार्टीको आधारभूत जानकारीसँगै स्थानीय वडास्तरमा सम्बन्ध विस्तार, समन्वयकारी भूमिकालगायतका बारेमा प्रशिक्षण गर्न जरुरी रहेको उनले दाबी गरे ।
संगठनको सिद्धान्त, संरचना, पालिका तथा वडा सभापतिहरूको काम, कर्तव्य अधिकार, कार्यकर्ताको व्यवहार तथा आचरण, पार्टीको सञ्चालन, प्रक्रिया, योजना निर्माण, बैठक सञ्चालन, सभा समारोहमा गरिने भाषण तथा भूमिकालगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठ, प्राध्यापक अशोक श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, पत्रकार राकेशकुमार मिश्र, अधिवक्ता कपिलदेव शर्मा, नेपाल तरुण दलका पूर्वमहासचिव हुर्मत न्यौपाने, प्रशिक्षण शाखा सचिव उमा थापामगर, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्