बाँके ।
बर्दियाको बाँसगढीमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । बाँसगढी नगरपालिका–३ उत्तरभकारीका ५ वर्षीय बालक जय थारूको सर्पले टोक्दा मृत्यु भएको हो । गोमन सर्पको टोकाइबाट ती बालकको मंगलबार अपराह्न मृत्यु भएको भेरी अस्पताल नेपालगन्जका एनेस्थेसियोलोजिस्ट प्रमुख डा.कृष्ण आचार्यले जानकारी दिए ।
थारूलाई घरको आँगनमा खेल्ने क्रममा गोमन सर्पले टोकेको परिवारका सदस्यले जनाएका छन् । अचेत अवस्थामा बालकलाई उपचारका लागि भेरी अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
‘निकै विषालु गोमन सर्पले बालकलाई डसेको रहेछ,’ डा. आचार्यले भने, ‘अस्पतालमा ल्याउँदा डेथ (मृत्यु) भइसकेको थियो ।’ निकै विषालु सर्पले बालकलाई टोकेका कारणले अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । हाल भेरी अस्पतालमा सर्प दंशका दुई बिरामी उपचाररत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसीयूमा उपचारत रहेको पनि डा. आचार्यले जानकारी दिए ।
बाँकेमा भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शमशेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेमा बिरामीहरूको उपचार हुने गरेको छ । सर्पले टोकेर गम्भीर भएकाहरूको उपचार भने भेरी अस्पतालमा मात्रै हुने गरेको छ ।
डा. आचार्यले सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिला बिस्तरा राम्री झारेर झूल टाँगेरमात्र सुत्ने, भुइँमा नसुत्ने, घरवरपर भएको जङ्गल वा झाडीलाई सफा बनाइ राख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राति कुखुरा कराएको सुनिएमा लाइट बालेरमात्र खोरको चेकजाँच गर्ने, घरमा मुसा छन् भने मुसा नियन्त्रण गर्नेलगायत उपायहरू गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्