बाँके ।
विवाहित छोरीलाई अग्रासन दिएपछि थारू समुदायले धुमधामका साथ मनाउने अटवारी पर्व सोमबार सम्पन्न भएको छ ।
बाँकेसहित पश्चिम तराईका थारू समुदायले धुमधामका साथ मनाउने अटवारी पर्व अन्तिम दिन सोमबार विवाहित छोरीलाई अग्रासन दिएपछि सकिएको हो ।
अटवारीको अन्तिम दिन माइती पक्षको कोसेलीस्वरुप विवाहित छोरीबेटीलाई खाने विभिन्न परिकारको अग्रासन दिने गरिन्छ ।
थारू अगुवासमेत रहेका पत्रकार विश्वराज पछल्डङ्याले दिएको जानकारी अनुसार अग्रासनमा अनदीको रोटी, खुर्मा, खरिया, फुलौरी, फलफूल, गेडागुडी तथा सागको तरकारी, माछा मासु, भातलगायतका परिकार हुन्छन् ।
‘अटवारी पर्वमा माइतीबाट विभिन्न परिकारहरू पाएपछि विवाहित छोरीबेटी खुसी हुने गर्दछन्,’ उनले भने, ‘अटवारीको अन्तिम दिन चेलीबेटीहरू माइतीपक्षको अग्रासन कुरेर बसेका हुन्छन् । अग्रासन नपाएमा उनीहरू दुःखी हुन्छन् ।’
अग्रासन दिन गएका दाजुभाइलाई विवाहित छोरीहरूले आफ्नो घरमा निकै आदर सम्मानका साथ मिठा मिठा परिकार खुवाएर पठाउने गर्दछन् । अटवारी पर्वको पहिलो दिन व्रतालुहरू अनदीको रोटी, फलफूल, खुर्मा, दुध खाने चलन रहेको छ । यी परिकारहरू खानुभन्दा अगाडि उनीहरूले एक भाग निकालेर आफ्ना विवाहित दिदिबहिनीका लागि छुट्टै राख्ने गर्दछन् ।
पर्वको दोस्रो दिन उनीहरूले खरिया, फूलौरी, गेडागुडी, सागको तरकारी, माछा, मासु जस्ता परिकार खाने चलन रहेको छ । यसलाई थारू भाषामा ‘फरहार’ गर्ने भनिन्छ । दोस्रो दिन पनि व्रतालुहरूले सबै परिकार एक भाग छुट्टै निकालेर मात्रै खाने गर्दछन् ।
यसरी, निकालेर राखेको रोटीसहित खानाका सबै परिकार आफ्ना विवाहित छोरीचेलीलाई दिइने परम्परा रहेको पत्रकार पछल्डङ्याले बताए ।
अटवारी पर्वको अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दियाका थारू समुदायहरूलाई सार्वजनिक बिदा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्