शिवानी विक । कोहलपुर ।
तीज नेपाली हिन्दू नारीहरूको महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ५ दिन मनाइन्छ ।
आज देशैभरि विभिन्न कार्यक्रम गरी यो चाड मनाइँदै छ । नेपाली हिन्दू महिलाहरूले धार्मिक संस्कार र परम्पराअनुसार नाचगान गरेर यो चाड मनाउँछन् । हिजोआज अन्य धर्मका नेपाली महिलाहरूले पनि यो पर्र्व हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपमा नेपालमा मनाइन्छ । तर भारतका विभिन्न क्षेत्रमा पनि तीज मनाउन थालिएको पाइन्छ ।
धार्मिक मान्यताअनुसार आद्यशक्ति भगवान् शिवकी श्रीमती हिमालयपुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य र दीर्घायूको कामना गर्दै कठोर व्रत बसेको दिनको सम्झनामा हरितालिका तीज मनाउने गर्छन् ।
त्यसै दिनदेखि नेपाली नारीहरूले यो पर्व मनाउँदै आएका हुन् भन्ने विश्वास गरिन्छ । तीजका अनुयायी हिन्दू महिलाहरू आफ्नो श्रीमान्को दीर्घायूको कामना गर्दै व्रत बसेर यो पर्व मनाउँछन् ।
धार्मिक मान्यता
हिन्दू ग्रन्थहरूका अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगलमा गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले एक वर्षसम्म तपस्या गरिन् ।
लामो समय तपस्या गर्दा पनि फल नपाउँदा उनले एक दिन शिव लिङ्गको स्थापना गरी पानीसमेत नपिई निराहार व्रत बसिन् । पार्वतीको कठोर व्रतबाट शिव प्रकट भए । उनले चिताएको कुरा पुगोस् भनेर वरदान दिए । पछि शिव र पार्वतीको विवाह भयो ।
धार्मिक मान्यताअनुसार विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायू र अविवाहित नारीहरूले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ । चतुर्थीको दिन शाकाहरी भोजन गर्ने, मिष्ठान्न परिकार खाने र नाच गान गरेर रमाइलो गर्ने गरिन्छ ।
पञ्चमीको दिन बिहाननजिकैको खोलामा गई दत्तीवनको तीन सय पैँसठ्ठी टुक्राले दाँत माझी, शुद्ध भई, चोखो कपडा लगाई, भगवान् शिवजीको पूजा आराधना गरी पञ्चमी पूजा लगाई, बेलुकी सूर्य अस्तपछि शुद्ध शाकाहारी भोजन गर्ने परम्परा सदियोँदेखि चल्दै आएको हो । विगतमा तीजको बेला टाढा भएका छोरीबेटीलाई दाजुभाइ घरमै लिन जाने गर्दथे । तीजमा दाजुभाइले दिदीबहिनीहरूलाई मीठामीठा भोजन पकाएर खुवाउने र नयाँ लुगा उपहार दिने चलन छ ।
उहिलेको तीज
महिलाहरूलाई पराइघरमा हुने विभिन्नखाले उल्झनबाट केही समयका लागि भए पनि मुक्त हुन आफ्नो जन्मघर वा माइती आएर तीज पर्वले महत्वपूर्ण भूमिका खेलेको छ । माइतीमा बाआमा वा दाजुभाइले पकाएको दर खाएर विरहका गीतहरू गाउँदै आपसमा दुःखसुख साट्दै नाचगान गरी मनोरञ्जन गर्ने गरेको कोहलपुर–३ मैटहवाहकी ५६ वर्षीया कमला विश्वकर्मा बताउँछिन् ।
उहिले आफूले पाएको दुःख, सासुले गरेको व्यवहार, परिवारले दिएको कष्ट वेदनालाई आदिलाई समेटेर तीजको गीतको माध्यमबाट प्रस्तुत
गर्थे ।
यसपालिको तीजमा मलाई कस्तो हुनी हो ।
माइत जान पाउँछु कि घरमै रुनी हो ।
तेरो लोग्ने विदेशबाट आएको छैन नि ।
के को माइत जान प¥यो जानि होइन नि ।
अहिले पनि विदेशबाट आएनन् स्वामी त ।
तीजमा माइत जान्छु भन्दा यस्तो रमिता ।
न त चिठ्ठी लेख्छ हाम्लाई न पठाउँछ त्यसले धन ।
छोरो पनि टाढा भयो तैले गर्दा झन् ।
यस्ता गीतमार्फत महिलाहरूले आफ्नो पीडा पोख्ने गर्थे । यस्ता पीडा बोकेका गीतहरूको भाव आमाबुबा तथा दाजुभाइहरूले सहजै बुझ्थे ।
तीजमा छोरी बैनीलाई दाजुभाइ लिन जान्थे, आमाबुबा नभएका आफन्तको बाटो हेरी बस्दथे, पारिवारिक सम्बन्ध जोडिएको हुन्थ्यो ।
विगतमा हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, गरी दिदीबहिनी जम्मा भएर मादलको तालमा तीजको भाका हाली आफ्नै स्वरमा गाउने र नाच्ने गरेको याद छ कोहलपुर–४ किरण नालाकी ५५ वर्षीया जमिरा सिंहलाई । उनको अनुभवमा अहिले तीज मनाउने पुरानो चलन नै फेरिएको छ ।
‘पहिले महिलाहरूको छिटो विवाह हुन्थ्यो । माइत आउन धेरै समय पर्खिनुपथ्र्यो । तीजको अवसर पारी माइत आउने र साथी संगीहरूलाई भेटेर दुःख सुख साट्थे । दर खान्थे,’ उनी भन्छिन, ‘अहिले समय फेरिएको छ । महिलाहरू तीज सुरु हुनुभन्दा महिनौं अघिदेखि नै दर खान लागिहाल्छन् ।’
हराउँदै मौलिकता
पछिल्लो समय पुरानो मौलिकता हराउँदै गएको बुढापाकाहरू बताउँछन् ।
‘पहिले तीजको अर्कै रौनक हुन्थ्यो । गाउँघरमा मीठो खान चाडवाड नै कुर्नुपथ्र्यो । त्यसैले पनि दर खाने प्रचलन भएको हुनसक्छ,’ विश्वकर्मा भन्छिन्, ‘पहिलेका तीज आफ्नै भेषभूषा र संस्कृति झल्कने खालका हुन्थे । रेडियो, टेलिभिजनमा पनि राम्रा–राम्रा गीत बज्थे । तर, अहिले त गीत संगीतको नाममा विकृति मौलाएको छ ।’
हिजोआज तीज आउन एक महिनाअघिदेखि नै तीजको रौनक सुरु हुन्छ । तीज नजिकिँदै गर्दा देशका विभिन्न ठाउँहरूमा रमझम बढेको छ । दर खाने र खुवाउने कार्यक्रम भइरहेका छन् । तीज निकै भड्किलो बन्दै छ । तीजको दरका नाममा मदिरा पार्टी चल्ने गरेको छ । कोहलपुर–११ एकतानगरकी गीता कट्टेललाई पनि तीज भड्किलो बन्दै गएको लाग्ने गरेको छ ।
सामान्य अवस्था भएका महिला दिदी–बहिनी, आमाहरूका लागि तीज टाढिँदै गएको उनको बुझाइ छ । उनका अनुसार सस्तो लोकप्रियता र व्यावसायिक लाभका लागि तीजका गीतहरूको मर्म र सार हराइरहेको छ । आजको पुस्ताले तीज पर्वलाई लिएर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता देखिएको उनले बताइन् ।
अहिलेको तीजलाई पहिलेको तीजसँग तुलना गर्न नमिल्ने मत राख्छिन्, कोहलपुर–११ सैनिक नगरकी आशा विश्वकर्मा । परम्पराको ख्याल नराखी तीजलाई भड्किलो र देखावटी रूपमा लगिएको उनले बताइन् ।
‘नेपाली माहिलाहरूको सबैभन्दा महत्वपूर्ण पर्व भनेको तीज हो, यसलाई आधुनिकतातिर नधकेलेर पुरानो पुस्ताले मान्दै आएको परम्पराअनुसार चले तीजको महत्व हुनेछ,’ उनले भनिन् ।
वर्ष दिनका लागि एक दिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने पनि थियो । वर्ष दिनमा एक दिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आफ्नो पतिलाई खुसी राखेर माइत हिँड्न परेको उनी सुनाउँछिन् ।
तीजलाई नारी स्वतन्त्रताको प्रतीक पनि भनिन्छ । रातो टीका, चुरा, सारी, हातमा मेहेन्दी, लगाएर, सजिएर विवाहित र अविवाहित महिलाहरूको उपस्थितिमा भेला भई तीज मनाएको अनुभव सुनाउँछिन् आशा । तर अहिले पारिवारिक भन्दा पनि व्यावसायिक सम्बन्धहरू बलियो भएको उनको अनुभव छ ।
प्रविधिको युगसँगै मानिसका त्यसैमा निर्भर हुन थालेका छन् । साउन्ड सिस्टममा रेकर्ड गरिएका गीत बजाएर त्यसैको तालमा नाच्ने (अझ उफ्रने) गरेको पाइन्छ । आफैँले गीत गाएर मादल र थपडीको तालमा नाच्ने चलन हराएको छ । हुने खानेहरूका लागि मात्र चाड पर्व भएजस्तै भएको छ ।
यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्य मान्यताहरू हराउँदै गएको छ, यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्व भएका यी पर्वहरूको मर्म बुझेर समुचित ढङ्गले मनाउनुपर्ने धेरैको मत छ ।
प्रतिक्रिया दिनुहोस्