बाँके ।
बाँकेमा दैनिकजसो विभिन्न कार्यक्रमहरू भइरहन्छन् । अझ यतिबेला हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा दर खाने कार्यक्रमले बाँकेका अधिकांश होटलका हलहरू भरिएका छन् ।
विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतलाई बोलाउने र लम्बेतान भाषण गर्ने प्रक्रिया प्रायः सबै कार्यक्रममा देखिन्छ ।
हामी कहाँ एउटा परम्परा नै छ, भरसख धेरै व्यक्तिहरूलाई स्टेजमा राख्ने र दुर्ई÷चार घण्टा भाषण गरेर बिताउने । यस्तो परम्पराबाट धेरै दर्शक–श्रोता वाक्कदिक्क भइसकेका छन् ।
यही अवस्थालाई दृष्टिगत गरी चलचित्र पत्रकार संघ बाँके शाखाले शुक्रबार उदाहरणीय रूपमा छिटोछरितो कार्यक्रमको आयोजना गरेको थियो । करिब एक घन्टाको समयमा कार्यक्रम समापन गरिएको थियो ।
हरेक वर्षजस्तै चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले यस वर्ष पनि तीजको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको थियो । तीजको अवसर पारेर बाँके शाखाले जिल्लामा पहिलोपटक महिला पत्रकारहरूलाई समेटेर ‘चलचित्र पत्रकारितमा महिला पत्रकारको अवस्था र सम्भावना’ शीर्षक अन्तरक्रिया आयोजना गरेको हो ।
कार्यक्रममा सभापतिका रूपमा बाँके शाखाकी सदस्य सावित्री विश्वकर्मा र प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाह दुई जना मात्रै स्टेजमा थिए ।
बाँके शाखा सदस्य रजनी योगीले करिब ३ मिनेटमा आसनग्रहणदेखि उद्घाटन र अतिथि सत्कारसम्मको कार्यक्रम सम्पन्न गरिन् । त्यसपछि शाखाका उपाध्यक्ष समिरमान श्रेष्ठले करिब २ मिनेटमै स्वागत मन्तव्य सिध्याए । त्यसपछि कार्यक्रम सञ्चालन गरिरहेका शाखाका सचिव विक्रम बुढाक्षेत्रीले कार्यक्रमलाई अन्तरक्रियातर्फ मोडेका थिए ।
अन्तरक्रियापछि पत्रकार रजनी योगीलाई नगद २ हजार १ सयसहित कदर पत्र र सिने रोयललार्ई शुभकामनापत्र प्रदान गर्दै प्रमुख अतिथिले आफ्नो मन्तव्य राखिन् । लगत्तै सभापतिले कार्यक्रम सम्पन्न गरिन् ।
४० मिनेटको अन्तरक्रियासहित कार्यक्रम करिब १ घण्टामा सकिएको थियो । १५ जनाको उपस्थितिबाट सुरु भएको कार्यक्रम अन्त्य हुँदासम्म ४० बढीको सहभागिता पगेको थियो । कार्यक्रममा भाषण गर्ने ३ जनामात्रै थिए । स्टेजको तल विशिष्ट अतिथि, अतिथि र विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरू थिए ।
अन्तरक्रियामा अधिकांश वक्ताहरूले चलचित्र पत्रकारितामा सम्भावना रहेको बताए । उनीहरूले चलचित्र पत्रकार संघलाई समीक्षा खेलनका विषयमा तालिम आयोजना गर्न र कला क्षेत्रका समाचारलाई पनि सञ्चार माध्यममा महत्व दिन सुझाव दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्