खजुरा तीज महोत्सवको तयारी पूरा



खजुरा (बाँके) ।

खजुरा क्षेत्र संरक्षण समितिको १८औं शृंखलाका रूपमा आयोजना गरिएको १८औं बृहत् तीज महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा भाग लिने स्थानीय महिलाहरूको समूह र एकल नृत्यमा भाग लिने कलाकारहरूले धमाधम नाम दर्ता गर्न सुरु गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ ।

खजुरा बजारको लक्ष्मीनारायण मन्दिर अगाडि हुने महोत्सवमा लोकनृत्य र लोक संगीत विधामा खजुरा क्षेत्रकै नाम उच्च स्थानमा पु¥याउने खजुरा क्षेत्रका ख्यातिप्राप्त नृत्य निर्देशक तथा बाध्यवादक केबी शाहीलाई सम्मान गरिने क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले बताए ।

खजुरा क्षेत्रमा संगीत यात्रा सुरु गरी नेपालका विभिन्न राष्ट्रिय प्रतियोगिताहरूका लोकनृत्य विधामा प्रथम बनाउन सफल नृत्य निर्देशक तथा ख्यातिप्राप्त बाध्यवादक केबी शाहीलाई सम्मान गर्ने निर्णय गरिएको बुढाथोकीले बताए । शाहीले नृत्य सिकाएका धेरै कलाकारहरू नेपालका विभिन्न प्रतियोगिताहरूमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

महोत्सवमा मौलिक तीजको गीत र नृत्यलाई प्रोत्साहित गरिने तथा प्रतियोगितामा भाग नलिने दिदीबहिनीहरूलाई पनि कला प्रदर्शनका लागि स्टेज प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रसिंह ठकुरीले बताए ।

परम्परादेखि ब्रतालुहरू मन्दिरमा पूजा गर्न आउने र खजुरा बजारमा आफ्नो पिरमर्कालाई तीजको गीतको माध्यमबाट प्रकट गर्ने गरेको संस्कृतिलाई संयोजन गरी २० वर्ष पहिलेबाट खजुरा क्षेत्र संरक्षण समिति तीज महोत्सवको थालनी गरेको थियो ।

त्यसैको निरन्तरताका रूपमा यो १८औं शृंखला पटक भएको समितिका सल्लाहकार शिवराज श्रेष्ठले बताए ।

महोत्सवमा स्थानीय विद्यालय, क्लब र महिला समूहले प्रतियोगितामा भाग लिएका छन् भने कार्यक्रमकै बीच लाखेनाच पनि प्रदर्शन हुनेछ । दर्शकलाई बस्न सुविधासम्पन्न टेन्ट र उच्च गुणस्तरको साउन्ड सिस्टमको व्यवस्था गरिएको मञ्च व्यवस्थापनका संयोजक रोशन सापकोटाले बताए ।

महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार