भेरी अस्पतालमै क्यान्सर जाँचको तयारी



बाँके ।

भेरी अस्पतालले थप विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ । अस्पतालले निकट भविष्यमा क्यान्सर रोग पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी भइरहेको जनाएको छ ।

क्यान्सरको आशंकामा भेरी अस्पतालमा आउने बिरामीको चेकजाँचका लागि बाहिर पठाउनुपर्ने अवस्था रहेकोमा सो सेवा विस्तार भएपछि क्यान्सरका बिरामी चेकजाँचका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले क्यान्सर पत्ता लगाउन जाँच गर्न बाहिर पठाउनुपरेकाले बिरामीलाई समस्या हुने गरेकाले चाँडै नै अस्पतालमा सो सेवा विस्तार गर्न लागिएको जनाए । ‘हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘चाँडै नै यस्ता बिरामीले भेरीबाटै सो सेवा प्राप्त गर्नेछन् ।’

उनले यसका लागि आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । ‘छिट्टै मेसिन आउने आशामा छौं,’ अध्यक्ष शाहले भने, ‘मेसिन आउनेबित्तिकै सेवा सुरु गर्छौँ ।’

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि केही समय अघिबाट हिस्टो प्याथोलोजी सेवा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार