नेपालगन्ज ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा नेपालगन्जस्थित भेरी अस्पतालमा एचपीभी खोपको शुभारम्भ गर्ने तयारी भइरहेको छ । गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको थियो ।
लुम्बिनी प्रदेशका लागि भेरी अस्पतालमा पहिलो चरणका लागि १२ सय खोप आएको छ । लक्षित वर्गभन्दा थोरै खोप आएका कारण व्यवस्थापन गर्न निकै कठिनाइ हुने देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेकी कार्यालय प्रमुख सुनिता पौडेलले खोप अभाव भएका कारण पहिला आउनेलाई पहिलो प्राथमिकता दिइने बताइन ।
भेरीमा भदौ २७, २८ र २९ गरी तीन दिन खोप अभियान सञ्चालन हुनेछ । ‘अहिले थोरै खोप लगाए पनि आगामी आर्थिक वर्षदेखि सरकारले यो खोपलाई नियमित गर्ने तयारी गरिरहेको छ,’ पौडेलले भनिन् । उनका अनुसार उक्त खोप अभियान सञ्चालन गर्न आइतबार जिल्ला समन्वय समितिको अध्यक्षतामा सर्वपक्षीय बैठक आयोजना गरिएको छ ।
कोसी प्रदेशमा कोसी अस्पताल, मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपीभी खोप प्रदान गर्न लागिएको हो ।
१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर सो खोप लगाउन लागिएको हो । यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । चिकित्सका अनुसार, अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ ।
नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्