अस्ताए बरिष्ठ चिकित्सक प्रधान



नेपालगन्ज ।

पश्चिम नेपालमै बालबालिकाको उपचारमा ख्याति कमाएका बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । वेष्टर्न अस्पताल नेपालगन्जमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजे निधन हो । डा. प्रधान केही समयदेखि उपचारमा थिए ।

उनी पहिलेदेखि नै सुगरको समस्याले ग्रसित रहेको उपचारमा संग्लग्न वरिष्ठ फिजिसियन डा.खगेन्द्र जंग शाहले जानकारी दिए । उनकाअनुसार डा.प्रधान अहिले फोक्सोको टिबी, कलेजो अनि किड्नीको समस्या लगायतले ग्रस्त थिए ।

पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको डा.शाहले जानकारी दिए । सल्यान खलंगामा वि.स.२००२ सालमा जन्मिएका उनीले वि.स २०३८ सालबाट नेपालगन्जस्थित भेरी अस्पतालबाट मेडिकल अधिकृतको रुपमा सेवा सुरु गरेका हुन् ।

सरकारी सेवाबाट निवृत्त भएपछि उनले त्रिपुरा बाल अस्पताल सञ्चालन गरेर बालबालिकाको बिशेषज्ञ उपचार सेवा दिँदै आएका थिए ।

पश्चिम नेपालमा आफ्ना बालबालिका बिरामी पर्दा अझै पनि डा. प्रधानलाई सम्झिरहन्छन् । डा. प्रधान यसक्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहेका छन् । सेवा अवधिमा जिवनभर राजधानी बाहिर काम गर्ने चिकित्सकका रूपमा उनी चिनिन्थे । उनले अधिकांस समय पश्चिम नेपालमै सेवा दिए ।

उनको निधनपछि विभिन्न क्षेत्रले शोक व्यक्त गर्दै पश्चिमको चिकित्सकक्षेत्रमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार