आजदेखि बाँकेसहित देशैभरी माओवादीको विशेष रूपान्तरण अभियान



बाँके ।

नेकपा (माओवादी केन्द्र)ले आज शनिबारदेखि बाँकेसहित देशभरी एकैसाथ तीन महिने अभियान सुरु गर्दैछ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा समेत अभियान सुरु हुनेछ ।

शुक्रबार नेकपा (माओवादी केन्द्र) बाँकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अभियानको बारेमा जानकारी दिएको थियो । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले बाँकेका ८ वटै पालिकाका ८१ वटा वडामा एकसाथ अभियान उद्घाटन गर्ने तयारी भएको जानकारी दिए ।

‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ बाँकेमा उद्घाटन हुने अभियानको तीन महिने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । अभियानभरी ६ वटा मुख्य एजेण्डामा केन्द्रित रहेर सांगठनिक गतिविधि संचालन गरिने पाण्डेले बताए ।

पाण्डेकाअनुसार अभियानका क्रममा राजनैतिक वैचारीक कार्य, संगठनात्मक कार्य, संघर्ष तथा जनसम्बन्धबारे कार्य, प्रचारात्मक कार्य र आर्थिक उत्पादन सम्बन्धिका गतिविधिहरुलाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ ।

अभियानको आज शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ । काठमाडौंबाट अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट देशैभर एकसाथ अभियान उद्घाटन गरेपछि जिल्ला, पालिका र वडास्तरका गतिविधिहरु सञ्चालन गरिने उनले बताए ।

अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने नेकपा (माओवादी केन्द्र)का स्थायी समितिसदस्य एवं बाँके जिल्ला अभियान इन्चार्ज कुल प्रसाद केसी (सोनाम)ले बताए ।

‘हामी जनतासँग भिज्न सकेको छैनौं । अभियानका क्रममा विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गर्नेछौं’ उनले भने, ‘यसअर्थमा यो अभियान हाम्रो अन्तिम परीक्षा हो ।’

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार