हजारौं विद्यार्थी उत्पादन गरेको पश्चिमको सबैभन्दा ठूलो महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार भूतबंगला जस्तो छ । यहाँ पढेका, राजनीति गरेका विद्यार्थी नेता कोही सांसद त कोही पालिकाका प्रमुख छन्, तर क्याम्पसको हरिबिजोग देखेर कसैको मन पग्लिएको छैन ।
कमल डाँगी । नेपालगन्ज ।
हजारौं विद्यार्थी उत्पादन गरेको पश्चिमको सबैभन्दा ठूलो महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार भूतबंगला जस्तो छ । यहाँ पढेका, राजनीति गरेका विद्यार्थी नेता कोही सांसद त कोही पालिकाका प्रमुख छन्, तर क्याम्पसको हरिबिजोग देखेर कसैको मन पग्लिएको छैन ।
जतिसुकै क्याम्पस खुले पनि महेन्द्र बहुमुखी क्याम्पसमा पढ्नेको क्रेज घटेको छैन ।
जुनसुकै वर्गको विद्यार्थीको रोजाई बन्छ । थोरै खर्चमा गुणस्तरीय पढाई हुने गरेका कारण पश्चिमका सबै जिल्लाका विद्यार्थीहरु यहाँ पढ्छन् । यतिका विद्यार्थीको रोजाईमा पर्ने क्याम्पसको पूर्वाधारको दयालाग्दो अवस्था देख्दा नीति निर्माताप्रति आक्रोस व्यक्त गर्नेको कमी छैन ।
पूर्व स्ववियू सभापति प्रमोद धिताल भन्छन्,– ‘हिजो जे अवस्था थियो अहिले पनि उही हुनु बिडम्बना हो । विद्यार्थी नभएका ठाउँमा पूर्वाधार बनेका छन् तर जहाँ विद्यार्थी छन् त्यहाँ पूर्वाधार छैन ।’ क्याम्पस अनुगमनमा पुगेका प्रतिनिधि सभा सांसद डा. धवलशम्सेर राणाको मन पनि त्यहाँको हरिबिजोग पूर्वाधार देखेर कटक्क खायो ।
उनले भने,– ‘बाहिर यो क्याम्पसको वाहीवाही हुने भित्र यस्तो पूर्वाधार ! यसो हुनु भएन ।’ क्याम्पसमा टाढाबाट पढन आउने विद्यार्थी बस्ने छात्राबासदेखि पठन पाठन हुने केहि भवनहरु जिर्ण अवस्थामा पुगिसकेका छन् । यति जोखिम छ की कुनै बेला अप्रिय घटना घट्छ की भन्ने त्रासमा विद्यार्थी छन् । क्याम्पसको व्यवस्थापन तथा अध्यापनमा सुधार आउँदै गरेको महेन्द्रमा हाल अध्ययनका लागि आउने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
हाल महेन्द्रमा ८ हजारको हाराहारीमा विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । तर क्याम्पसका भौतिक संरचना एवम् कक्षाकोठा भने ज्यानमारा बन्दै गएका छन् । क्याम्पसका प्रमुख लालामणी आचार्य क्याम्पसका पुराना भवनमा विद्यार्थीलाई अध्यापन गराउनै नमिल्ने अवस्थामा पुगेको बताउँछन् । क्याम्पसको दक्षिणतर्फ रहेको भवनको छतबाट ईट्टा र कंक्रिट खस्ने गरेको छ ।
यो दृव्यप्राय सबै कोठाहरुको छतमा उस्तै देख्न सकिन्छ । महेन्द्र विद्यालयको उत्तर तर्फको भवनबाहेक बाँकी सबै भवन पुराना हुन् । यी भवनहरु २०२२ सालमा राजा महेन्द्रको पालमा बनेका हुन् । यसरी हेर्दा ती भवनहरु ५७ वर्ष पुराना भएको देखिन्छ । सरदरमा कुनै पनि भवनको अधिकतम आयु ५० वर्ष हुन्छ ।
महेन्द्र क्याम्पस राजा महेन्द्रको पालामा स्थापना भएको र भवन पनि उनकै पालामा बनेका कारण क्याम्पसको नामाकरण उनकै नामबाट राखिएको हो । महेन्द्र बहुमुखी क्याम्पका तर्फबाट भवनबारेमा पूर्ण विवरणसहित १० करोड रुपैयाँको स्टिमेट केन्द्रका विभिन्न निकायमा पठाइसकेको छ । प्रमुख आचार्यकाअनुसार विश्वविद्यालयका सम्पूर्ण निकायदेखि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालयमा महेन्द्र क्याम्पसको भवनको जानकारी पठाई सकिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका जनप्रतिनिधिहरुले पनि महेन्द्रका भवनहरुको अवलोकन गरिसकेका छन् । तर उक्त भवनको विषयमा कुनै पनि निकायबाट ठोस कदम आउन सकेन । महेन्द्र बहुमुखी क्याम्पसका स्ववियू सभापति माधव खत्रीले क्याम्पस र छात्राबासको पूर्वाधार निर्माण हुनुपर्ने बताउँछन् ।
त्यसलाई स्ववियूले पनि प्रमुख मुद्दा बनाएको छ । सभापति खत्री भन्छन्,– ‘पूर्वाधार जिर्ण बनेको छ । यसको सुधारका लागि स्ववियूले भन्नुपर्ने धेरै ठाउँमा भनिसकेको छ । मलाई विश्वास छ सम्बोधन हुने छ ।’









प्रतिक्रिया दिनुहोस्