ढकेरीमा बसको ठक्करबाट सात राँगाभैसीको मृत्यु



बाँके ।

पूर्व पश्चिम राजमार्गको ढकेरी नजिकै यात्रुबहाक बसको ठक्करबाट ६ वटा राँगा र १ भैसीको मृत्यु भएको छ । बिहीबार राति नेपालगन्जबाट पोखरा जाँदै गरेको ना ६ ख ६३७८ नम्बरको बसको ठक्करबाट ७ राँगाभैसीको मृत्यु भएको हो ।

५ वटाको घटनास्थलमै र २ वटाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । जंगलबाट घर फर्किरहेका राँगाभैसीलाई तीव्र गतीमा गइरहेको यात्रुबहाक बसले ठक्कर दिएको थियो ।

८ वटा राँगाभैसी रहेकोमा ७ वटालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । राति नै ५ वटाको मृत्यु भइसकेको अवस्थामा र १ वटालाई गम्भीर घाइते अवस्थामा स्थानीय र प्रहरीले फेला पारेका थिए ।

गम्भीर घाइते भैसीको पाडोलाई भने स्थानीयले शुक्रबार बिहान घटनास्थल नजिकै फेला पारेका थिए । भैसीको पाडोलाई स्थानीयले बोकेर घर ल्याएपनि मृत्यु भएको थियो ।

दुई घरपरिवारका ७ वटा राँगाभैसीलाई बसले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

बस समितिले पीडित परिवारलाई शुक्रबार नै क्षतीपूर्ती दिइसकेको छ । भेरी बस व्यवसायी प्रा.लि. नेपालगन्जले पीडितका परिवारलाई क्षतीपूर्ती दिएको हो ।

पीडित परिवारले १ वटा राँगा बराबर ७० हजार रूपैयाँ र एउटा भैसीको पाँडोको ३० हजार रूपैयाँ क्षतीपूर्ती पाएका हुन् । उपचार गर्दा लागेको रकमसमेत बस समितिले व्यहोर्ने सहमती भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २ गते शनिबार